close

कास्कीको मादीमा ‘१ घर, १ पीसीआर’

कास्कीको मादीमा ‘१ घर, १ पीसीआर’

Trulli
ADVERTISEMENT

कास्की- कास्कीको मादी गाउँपालिकाले प्रत्येक घरका कम्तीमा एक जनाको पीसीआर परीक्षण गर्ने भएको छ । स्थानीय विपद् व्यवस्थापन समितिको बैठक बसेर पालिकाले कोरोना जोखिम रहेको ठाउँमा एक घर, एक पीसीआर परीक्षण गर्ने निर्णय गरेको हो । समुदायमा कोरोना फैलिएको आशंकासहित वडा नम्बर ९, १०, ११ र १२ का विभिन्न ठाउँमा एक घर, एक पीसीआर गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

 

‘एक जनाको लक्षण देखिँदै गर्दा मृत्यु भयो । वहाँको पीसीआर परीक्षणमा कोरोना पुष्टि भयो । त्यसपछि ट्रेसिङबाट परीक्षण गर्दा वहाँका दुई छोरामा समेत कोरोना देखिएको छ’, पालिकाका प्रवक्ता लालबहादुर गुरुङले भने, 'गाउँभरी कोरोना सरेको आशंका गरेर ती क्षेत्र सिल गर्‍यौँ । अब सबै घरका कम्तीमा एक जनाको पीसीआर हुन्छ ।’ ट्रेसिङमा परेकाहरूको स्वाब पालिकाले नै लिएको छ । 


पालिकामा हाल नौ जना सक्रिय संक्रमित छन् भने २० जना निको भएका छन् । त्यस्तै, एक जनाको मृत्यु भएको छ । ‘अधिकांश वडामा स्वास्थ्यकर्मीहरूलाई कोरोना पुष्टि भएको छ । त्यसैले अरूमा पनि संक्रमण सरेको आशंका छ’, उनले भने, ‘यस्तो बेला सेवा प्रवाह गर्ने स्थिति छैन । कार्यालयका काम पनि बन्द गरिएका छन् ।’ 

 

गाउँपालिकाले बुधबारदेखि २ मंसिरसम्म सबै सेवा ठप्प पार्ने निर्णय गरेको छ । स्वास्थ्यका कामबाहेक कुनै पनि सेवा प्रवाह नहुने अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले जानकारी दिए । यस अवधिमा पालिकाभित्र सार्वजनिक गाडी आउजाउमा समेत रोक लगाइएको छ । 


तिहारमा हुने देउसीभैलोलगायतका सबै गतिविधि बन्द गर्ने र ५ मंसिरसम्म वडा नम्बर- ११ को भगवतीटार र १२ को घुम्लेबजार सिल गर्ने निर्णय भएको छ । गाउँपालिकाका विद्यालयहरू ६ मंसिरसम्म नखोल्न निर्देशन दिइएको छ ।पर्यटकीय गतिविधिमा पूर्ण रूपमा रोक लगाइएको छ भने कृषि र पशुपालनका काम गर्दा भौतिक दूरी कायम गरी मास्क र स्यानिटाइजर लगाउन भनिएको छ ।

 

कोरोना नियन्त्रणका लागि जनप्रतिनिधि, शिक्षक, कर्मचारीलगायतको उपस्थितिमा समुदाय स्तरमा पुगेर कोरोनाको सचेतना अभियान संचालन गरिने अध्यक्ष गुरुङले जानकारी दिए । ‘भोलि हुने समस्याको आँकलन अहिले गरेर योजना बनाएका हौँ । चाडबाडमा धेरै संक्रमित बढ्न सक्छन्’, उनी भन्छन्, ‘अहिले नै कडाइ गर्न सके क्षति घट्ला ।’