close

गुरुङचौरीमा इन्जिनियरिङ पढाउँदै बेलका

गुरुङचौरीमा इन्जिनियरिङ पढाउँदै बेलका

Trulli
ADVERTISEMENT

उदयपुर - उदयपुरको बेलका नगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमध्ये केही विद्यालयलाई नमुनाको रुपमा सञ्चालन गर्न थालेको छ । बेलका नगरपालिका-४ को जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरीमा प्राविधिकतर्फको सिभिल इन्जिनियरिङको पढाइसँगै जिल्लामै पहिलो स्कुल बस सञ्चालन गरिने लागेको हो ।

 

चालू शैक्षिक वर्षदेखि प्राविधिकतर्फ सिभिल इन्जिनियरिङ पठनपाठन थालेको सो विद्यालयले टाढाका विद्यार्थीलाई आउजाउ सहज बनाउन बस सेवा सुरु गर्न थालेको हो । जिल्लामा रहेका निजी तथा अन्य सामुदायिक विद्यालयको स्कुल बस छैनन् । 


सिभिल इन्जिनियरिङ पठनपाठनका लागि टाढाबाट आउने विद्यार्थीलाई लक्षित गरी बस सेवा सञ्चालन गर्न लागिएको नमुना माविका प्रधानाध्यापक सम्मर राईले बताए । ‘बस खरिद प्रक्रिया टुंगो लागिसकेको छ । जिल्लाकै सामुदायिक विद्यालयमध्ये बस ल्याउने हामी पहिलो बन्दै छौं’, राईले भने ।


सामुदायिक विद्यालयलाई बस चलाउँदा सरकारले भन्सार छुटको व्यवस्था गरेकाले खरिद गर्न सहज भएको राईले सुनाए । ‘भन्सार सहुलियत भएपछि ६० लाख पर्ने ४० सिट क्षमताको बस १८ लाख ५० हजार रुपैयाँमै किन्दै छौं । त्यसका लागि रकम भुक्तानी भइसक्यो’, उनले भने ।

 

निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न पनि बस ल्याउने निर्णय भएको उनले जानकारी दिए । ‘गुणस्तरीय शिक्षा मात्र भएर नहुने रहेछ । अभिभावकको ध्यान खिच्ने उपाय पनि चाहियो,’ प्रधानाध्यापक राईले भने, ‘निजी विद्यालयले जस्तै बस खरिद गरेर विद्यार्थीलाई सेवा दिने लक्ष्य छ ।’ उक्त विद्यालय आर्थिक वर्ष ०७६/७७ मा नमुना विद्यालय घोषित भएको थियो ।


कक्षा शिशु (इसिडी) देखि कक्षा १२ सम्म साधारण र प्राविधिकतर्फको पठनपाठन गराउनुपर्दा बिहान ८ः०० देखि साँझ ५ः०० बजेसम्म कक्षा सञ्चालन गर्नुपर्ने अवस्था स्कुललाई छ । नेपाली र अंग्रेजी दुवै माध्यमको पढाइ गर्नुपर्दा समय मिलाउन बस सञ्चालन गर्नैपर्ने बाध्यता आइलागेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोज तामाङ सुनाउँछन् ।

 

विद्यार्थी संख्या बढ्दै गए थप बस खरिद गरिने उनले बताए । नगरपालिकाले शैक्षिक गुणस्तर उकास्न नमुना विद्यालय घोषणा गरी योजनाबद्ध काम गरिरहेको नगरप्रमुख दुर्गाकुमार थापाले जानकारी दिए ।