close

श्रमदान गरेर खोप केन्द्र भवन

श्रमदान गरेर खोप केन्द्र भवन

Trulli
ADVERTISEMENT

म्याग्दी–  म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा खोप केन्द्र भवन निर्माणका लागि श्रमदानमा जुटेका छन् । गाउँपालिका र दाताको सहयोगका साथै समुदायको श्रमदानबाट खोप केन्द्रको भवन निर्माण अन्तिम चरणमा पु¥याएका हुन् ।


विद्यालयका कोठा, व्यक्तिका घर र चौतारामा बसेर बालबालिकालाई खोप लगाउनुपर्ने समस्या अन्त्यका लागि खोप केन्द्र भवन निर्माण गर्न लागिएको उपभोक्ता समितिका सचिव वीरबहादुर छन्त्यालले बताए ।

 

उनका अनुसार गुड नेवर्स इन्टरनेसनलको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित सामुदायिक विकास परियोजनाअन्तर्गत कदम म्याग्दी र गाउँपालिकाको सहयोगमा भवन बनाउन लागिएको हो ।

 

‘एक तले दुई कोठे भूकम्पप्रतिरोधी भवन बनाउन प्रतिघर चार÷चार दिनका दरले श्रमदान अभियान चलायौं,’ उपभोक्ता समितिका सचिव छन्त्यालले भने, ‘गाउँपालिकाले पाँच लाख र कदमले सात लाख रुपैयाँ विनियोजन गरेका छन् ।’

 

निर्माण सामग्री, फर्निचर खरिद र मजदुरको ज्यालाबाहेक जग्गा सम्याउन, पर्खाल लगाउने ढुंगा ढुवानी गर्ने काममा स्थानीयको श्रमदान जुटाइएको सचिव छन्त्यालले जानकारी दिए ।

 

मच्छिम गाउँमा एक सय सात घरधुरीको बसोबास छ । अनुदानले नपुग्ने अवस्थामा श्रमदान थप गरेर भवनलाई पूर्णता दिने तयारी उपभोक्ता समितिको छ ।

 

कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर भवन निर्माण गर्न लागिएको हो । कदम म्याग्दीका परियोजना फोकल पर्सन हरिप्रसाद पौडेलले मच्छिमबासीले जनसहभागिताको उत्कृट नमुना प्रस्तुत गरेका बताए ।

 

‘धेरै ठाउँमा उपभोक्ता समितिले आयोजना कार्यान्वयन गर्ने जिम्मा ठेकेदारलाई सुम्पिएको पाइन्छ तर मच्छिमका बासिन्दाले आफैं सीप, स्रोत–साधन र श्रम परिचालन गरेर सकारात्मक सन्देश दिएका छन्,’ उनले भने, ‘सबै ठाउँमा यस्तै जनसहभागिता हुने हो भने राज्यको थोरै बजेटमा पनि धेरै विकासका काम गर्न सकिन्छ ।’

 

परियोजनामार्फत यसअघि धवलागिरि गाउँपालिका–६ बुल र २ खोरीयामा खोप केन्द्र तथा वडा–४ बगरमा सामुदायिक स्वास्थ्य इकाइ भवन निर्माण भएको थियो ।