म्याग्दी- म्याग्दीका स्थानीय तहले आधारभूत तहको स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि अस्पताल बनाउने योजना कार्यान्वयनमा स्थान विवाद र जग्गा व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ ।
आज अर्थात् १५ मंसिरमा देशभरका पालिकामा एकै पटक अस्पतालको शिलान्यास गर्ने कार्यक्रम बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले म्याग्दीको धवलागिरि, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालिकालाई अस्पताल बनाउन तीन करोड १० लाख रुपैयाँ बजेट पठाइसकेको छ ।
अर्मन स्वास्थ्य चौकी परिसरमा जग्गा व्यवस्थापन गरेको मंगला गाउँपालिकाले मात्र अस्पताल भवन बनाउने प्रक्रिया सुरु गरे पनि अन्य पालिकामा विवाद र जग्गा व्यवस्थापन नभएकाले तत्कालन भवन निर्माण सुरु हुन सक्ने देखिँदैन ।
मंगलाका उपाध्यक्ष सिर्जना केसीले दुई वर्षअघि खरिद गरेको १० रोपनी जग्गामा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)अनुसार भवन बनाउन सोमबार शिलान्यास गर्न लागिएको बताइन् ।
अन्नपूर्णमा ठाउँको विवाद नभए पनि अस्पताल बन्ने वडा- १ दोवामा जग्गा छनोट भइसकेको छैन ।
अन्य वडाका बासिन्दालाई पनि सेवा लिन सहज हुने गरी सुरक्षित ठाउँमा निःशुल्क जग्गा व्यवस्थापन गर्न लागिएको दोवाका वडा अध्यक्ष दिलीपकुमार गर्बुजाले बताए ।
‘दोवा गाउँनजिकै विभिन्न ठाउँमा स्थानीयले अस्पताल बनाउन १० रोपनीभन्दा बढी जग्गा उपलब्ध गराउन सहमति दिएका छन् । तर, बेनी-जोमसोम सडक नजिक पर्ने औला अथवा सुनारी क्षेत्रमा अस्पताल बनाउने तयारी छ’, वडा अध्यक्ष गर्बुजाले भने ।
गाउँपालिका र बेगबासीबीच उत्पन्न स्थान विवादले रघुगंगामा अस्पताल बनाउने योजना कार्यान्वयनमा अन्योल सिर्जना भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेढ वर्षअघि ‘एक स्थानीय तह, एक अस्पताल’ कार्यक्रमअन्तर्गत रघुगंगा- १ बेगलाई छनोट गरेको थियो ।
२० कात्तिकको कार्यपालिका बैठकले सबै पालिकाबासीलाई पायक पर्ने र सहज हुने भएकाले मौवाफाँटमा १० शय्याको अस्पताल बनाउने निर्णय गरेको थियो ।
कार्यपालिका निर्णयप्रति फरक मत राख्दै आएका वडा अध्यक्ष बिलप्रसाद फगामीले ठाउँ नै तोकेर आएको योजना अन्यत्र लैजान नहुने भन्दै बेगमा जग्गा व्यवस्थापन गरिसकेको बताए ।
धवलागिरिको २५ साउन २०७४ मा स्थायी केन्द्र कायम गर्न बसेको गाउँसभाले धारापानीमा १५ शय्याको अस्पताल बनाउने निर्णय गरेको थियो ।
ताकम स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गर्न जग्गा व्यवस्थापन गरेपछि धारापानीबासी दबाबमूलक कार्यक्रममा छन् । ताकम र धारापानी धवलागिरिको वडा नम्बर- ७ मा पर्ने फरक बस्ती हुन् ।
धारापानीमा अस्पताल बनाउने निर्णय कार्यान्वयनको माग गर्दै स्थानीय राजनीतिकर्मी, आमा समूह र युवा क्लबका प्रतिनिधिले आइतबार जिल्ला समन्वय समिति, राजनीतिक दल र प्रशासनमा ध्यानाकर्षणपत्र बुझाइएका छन् ।
बेनी नगरपालिकामा जिल्ला अस्पताल र मालिकाको केन्द्र दरवाङमा प्राथमिक स्वास्थ्य केन्द्र छ । गाउँमै अस्पताल बन्ने खबरले उत्साहित स्थानीय विवाद र जग्गा छनोटमा भएको ढिलासुस्तीले अलमलमा परेका छन् ।
स्थानीय तहहरूको अस्पताल बनाउन प्रस्तावित जग्गाको मूल्यांकनका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बनेको समितिले सबै प्रस्तावित जग्गाको स्थलगत निरीक्षण गरेको छ ।
प्राकृतिक विपद्को जोखिमका हिसाबले सुरक्षित र पायक पर्ने ठाउँको जग्गा छनोट गरेर सिफारिस गर्न पालिकाहरूसँग समन्वय गरिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।
अस्पताल बनाउन सरकारले अन्नपूर्ण र धवलागिरिलाई ७०/७० लाख, रघुगंगा र मंगलालाई ८५/८५ लाख रुपैयाँ बजेट पठाएको छ । पाँचदेखि १५ शय्याको अस्पतालको पूर्वाधार बनाउन १० रोपनी जग्गा हुनुपर्ने मापदण्ड छ ।