close

गर्भवतीको घरमा सांकेतिक चिह्न !

गर्भवतीको घरमा सांकेतिक चिह्न !

Trulli
ADVERTISEMENT

खोटाङ- नेपाल सरकारले २०७२ साउनमा एकै साथ मुलुकभरका उपस्वास्थ्यचौकीलाई स्वास्थ्यचौकीमा स्तरोन्नति गर्‍यो तर खोटाङका दुईवटा उपस्वास्थ्यचौकी स्तरोन्नतिमा छुटे । उसबेला जिल्लाका ४९ मध्ये ४७ उपस्वास्थ्यचौकी मात्र स्वास्थ्यचौकीमा स्तरोन्नतिमा परेका थिए । 


जिल्लाकै अन्य उपस्वास्थ्यचौकीसँग मिल्दोजुल्दो नाम हुन पुग्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका- ५ सप्तेश्वर छितापोखरीमा रहेको उपस्वास्थ्यचौकी र जन्तेढुंगा गाउँपालिका- ६ दिप्लुङस्थित उपस्वास्थ्यचौकी स्तरोन्नति हुनबाट बञ्चित भएका थिए । उपस्वास्थ्यचौकी सप्तेश्वर छितापोखरीलाई भने गाउँपालिकाले स्वास्थ्यचौकीमा स्तरोन्नति गरेको छ । 


स्वास्थ्य ऐन जारी गर्दै उपस्वास्थ्यचौकीलाई स्वास्थ्यचौकीमा स्तरोन्नति गर्ने नीति तथा कार्यक्रम ल्याएको गाउँपालिकाले उपस्वास्थ्यचौकीलाई स्तरोन्नति गरेको हो । त्रुटिवस पाँच वर्षअघि स्तरोन्नतिबाट छुट भएको उपस्वास्थ्यचौकीलाई दिप्रुङ गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले स्वास्थ्यचौकीमा स्तरोन्नति भएको घोषणा गरेका छन् । 

 

कार्यपालिकाको गत ३० असोजमा बसेको बैठकले उपस्वास्थ्यचौकीलाई स्तरोन्नति गर्ने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सप्तेश्वर छितापोखरी उपस्वास्थ्यचौकीको नाम सप्तेश्वर स्वास्थ्यचौकीसँग र दिप्लुङ उपस्वास्थ्यचौकीको नाम दिप्सुङ उपस्वास्थ्यचौकीसँग मिल्न गएपछि भएको अस्पष्टताले दुई उपस्वास्थ्यचौकी स्तरोन्नतिबाट बञ्चित भएका थिए । 


उपस्वास्थ्यचौकी नै भए पनि स्वास्थ्यचौकी सछितापोखरीबाट स्वास्थ्यचौकी सरहकै सेवा प्रवाह भइरहेको थियो । स्वास्थ्यचौकी सरहको सेवा सुविधा प्रवाह भइरहेको भए पनि दिप्सुङ उपस्वास्थ्यचौकीले हालसम्म स्वास्थ्यचौकीको मान्यता प्राप्त गर्न सकेको छैन । 


बर्थिङ सेन्टरको भवन हस्तान्तरण 


यस्तै, सप्तेश्वर छितापोखरीस्थित स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरको भवन हस्तान्तरणसँगै उद्घाटन गरिएको छ । बर्थिङ सेन्टरका लागि २०६८ सालमा तत्कालीन जिल्ला विकास समितिको पाँच लाख रुपैयाँमा निर्माण गरिएको भवनलाई मर्मत सम्भार गरेर स्वास्थ्यचौकीलाई हस्तान्तरणसँगै उद्घाटन गरिएको हो । 


वानहर्ट वल्डवाईडको नौ लाख ४१ हजार र गाउँपालिकाको पाँच लाख ४१ हजार गरी १४ लाख ८२ हजार रुपैयाँमा मर्मत गरिएको बर्थिङ सेन्टरको भवन गाउँपालिकाकी उपाध्यक्ष सपना राईले उद्घाटन गरेकी छन् । जनशक्ति एवं प्रसूतिसम्बन्धी सामग्री अभावमा लामो समयसम्म प्रयोगविहीन बनेको बर्थिङ सेन्टरको भवनलाई स्थानीय सरकार आएपछि केही समय उपस्वास्थ्यचौकीको सेवा प्रवाहका लागि प्रयोग गरिएको थियो । 


तर, गाउँपालिकाले गत वर्ष चार लाख रुपैयाँमा स्वास्थ्यचौकीको भवन निर्माण गरेपछि सो भवनलाई बर्थिङ सेन्टरकै रूपमा प्रयोग गरिँदै आइएको वडा सदस्य अमृत गिरीले बताए । दिप्रुङ चुइचुम्मा गाउँपालिकाका सबै सातवटै वडामा बर्थिङ सेन्टर विस्तार भइसकेको छ ।


यस्तै, गाउँपालिकाले गर्भवती भएको घरमा गर्भवतीको चित्र अर्थात् गर्भवती भएको सांकेतिक चिह्न राख्ने तयारी गरेको छ । गर्भवती भएको घरमा गर्भवतीको नाम र ठेगानासहितको गर्भवतीको चित्र राखिने गाउँपालिकाले जनाएको छ ।