close

मुगु प्रशासनमा गाउँका सिंहदरबारको लगानी

पालिकाले बनाइदिए स्तनपान कक्ष र शौचालय

मुगु प्रशासनमा गाउँका सिंहदरबारको लगानी

पालिकाले बनाइदिए स्तनपान कक्ष र शौचालय

Trulli
ADVERTISEMENT

मुगु– जिल्ला प्रशासन कार्यालय मुगुमा स्तनपान कक्ष र महिला–पुरुष छुट्टाछुट्ट शौचालय स्थापना भएका छन् । जिल्लाका ४ वटा स्थानीय तहले यी सेवा स्थापना गरेका हुन् ।


प्रशासन कार्यालयमा केही स्थानीय तहले पर्खाल बनाइदिएका छन् त केही स्थानीय तहले सेवाग्राहीको विश्राम कक्ष र टिभीसमेत जडान गरिदिएका छन् ।

 

पछिल्लो समय कामका लागि जिल्ला प्रशासन कार्यालय पुग्ने सेवाग्रहीलाई सहज भएको छ । दिनभरि कुर्नुपर्ने अवस्था अहिले हटेको छ । प्रशासन कार्यालयमा कतै बालबालिकालाई खेलौना त कतै सुत्केरी महिलाका लागि स्तनपाने कक्ष ।

 
पूर्वप्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाको पहलमा जिल्ला प्रशासनको पूर्वाधार संरचना निर्माण भएका हुन् । जिल्ला प्रशासन मुगुलाई स्तनपान कक्ष र सेवाग्राहीका लागि विश्राम कक्ष निर्माण गर्न खत्याड गाउँपालिकाले ४ लाख २० हजार रुपैयाँ सहयोग गरेको छ ।


त्यस्तै, सोरु गाउँपालिकाले डिजिटल बोर्ड,, टिभी र वाटर डिस्पेन्सेरका लागि ३ लाख २० हजार रुपैयाँ र मुगुम कार्मारोङ गाउँपालिकाले महिला र पुरुषको छुट्टाछुट्टै शौचालय भवन र पर्खालका लागि ४ लाख ३७ हजार रुपैयाँ रकम सहयोग गरेको सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीले बताए ।


‘मुगुका स्थानीय तहले प्रशासन कार्यालय र मातहतका इकाइको पूर्वाधार, प्रविधि र स्रोत–साधनमा गरेको सहयोगका कारण सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन सहयोग पुगेको छ’, उनले भने । जिल्ला प्रशासन मुगुमा यसअघि हिंसा प्रभावित महिला तथा बालबालिकाको आश्रयका लागि कुनै पनि स्थान स्थापना भएका थिएनन् ।

 

यसअघि सेवाग्रही र कर्मचारीका बच्चाबच्चीलाई स्तनपान गराउन समस्या थियो । कम्युटरको माध्यमबाट दैनिक रूपमा सेवाग्रहीको विस्तृत विवरण राखिने र सन्तुष्टिको मापनका लागि फारमसमेत भर्ने व्यवस्था मिलाइएको छ ।


स्तनपान कक्षबाट सेवाग्राहीलाई परामर्श, सम्बन्धित शाखा, अधिकारीसँग सम्पर्क गराएर छिटो–छरितो सेवा प्रवाह गर्नुका साथै बिचौलियाको सहायता लिनुपर्ने अवस्था अन्त्य गर्न सहयोग पुगेको छ ।