close

पर्यटक भित्र्याउन पदयात्रा, भरिभराउ होमस्टे (भिडियो खबर)

पर्यटक भित्र्याउन पदयात्रा, भरिभराउ होमस्टे (भिडियो खबर)

ADVERTISEMENT

तनहुँ- कोरोना महामारीका कारण थलिएको पर्यटन व्यवसाय अझै तंग्रिन सकेको छैन । विस्तारै बामे सार्ने क्रममा छ । ग्रामीण पर्यटनको पर्याय घरबास अर्थात होमस्टे पनि सुनसानै देखिन्छन् । तनहुँको एक सामुदायिक होमस्टेले भने प्रचार-प्रसारसँगै पर्यटन प्रवर्द्धनकाे जुक्ति निकालेको छ । पर्यटक डाक्न पदयात्रा गराएको छ ।


तनहुँको भीमाद नगरपालिका वडा नम्बर ९ भानुमतिस्थित पाथर्दी सामुदायिक होमस्टेले पर्यटक डाक्न १७ किलोमिटर दूरीमा पदयात्रा गराएको छ । भीमादको कुमारचोकदेखि पाथर्दी गाउँसम्म पदयात्रा गराएको हो । 

 

धन्धुर सिद्धगुफा, चमेरेगुफा, मोहोरिया, इलुङ छहरा हुँदै पाथर्दी गाउँमा पुगेर टुंगिएको थियो । लामो समयपछि पर्यटनको गतिविधि चलायमान बनाउन गरिएको पदयात्रामा आन्तरिक पर्यटकले उल्लेख्य सहभागिता जनाएका थिए ।

 

पाथर्दी गाउँले बोयर बाख्राको पकेट क्षेत्रको रूपमा देश–विदेशमा ख्याति कमाएको छ । गण्डकी प्रदेश सरकारको महत्त्वाकांक्षी कार्यक्रम मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँको सुरुवात यसै गाउँबाट भएको हो ।

 

बाख्रापालनका लागि देशभरका किसान अध्ययन अवलोकनमा आउन थालेपछि उत्साहित भएका स्थानीयले २०७५ देखि होमस्टे सञ्चालनमा ल्याएका हुन् ।

 

कृषि र पशुपालनलाई पर्यटनसँग जोड्दै आत्मनिर्भरताको बाटो रोजे पनि गत चैतयता कोरोनाले ठप्प पर्यटनलाई चलायमान बनाउन पदयात्रा आयोजना गरिएको पाथर्दी सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आले बताउँछन् ।


बाख्रापालनसँगै सिद्धगुफादेखि पाथर्दीसम्मको जिदी खोलाको किनारैकिनार पहिचान गरिएको पदमार्गले पनि पर्यटकलाई आकर्षित गर्ने दाबी उनको छ ।

 

यो पदमार्गमा देशभरका १ सय उत्कृष्ट गन्तव्यमा सूचीकृत सिद्ध गुफा, नेपालकै लामो दाबी गरिएको चमेरे गुफा, मोहेरियामा रहेको ढुंगाको आकर्षक दृश्य, घाङ्चल्हुम र इलुङ झरना पर्दछ । 

 

स्थानीय र प्रदेश सरकारसँगको सहकार्यमा फुटट्रयाक निर्माण गर्ने योजना बनाइएको भीमाद नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष इमानबहादुर थापा सुनाउँछन् ।