close

आमा समूहलाई दुना-टपरी बनाउने मेसिन

आमा समूहलाई दुना-टपरी बनाउने मेसिन

Trulli
ADVERTISEMENT

म्याग्दी- पर्वतको जलजला गाउँपालिकाले ३ वटा आमा समूहलाई दुना-टपरी बनाउने विद्युतीय मेसिन सहयोग गरेको छ । 

 

कामना आमा समूहसहित वडा नम्बर ७ को भगवति आमा समूह र ८ नम्बर वडाको लस्ती फर्से महिला समूहलाई १/१ वटा दुना-टपरी बनाउने विद्युतीय मेसिन सोमबार उपलब्ध गराइएको हो । 

 

स्थानीय वनमा खेर गइरहेको सालको पात टिपेर दुना-टपरी बनाई महिलाको आयआर्जनमा सुधार ल्याउने उद्देश्यले मेसिन सहयोग गरेको गाउँपालिका उपाध्यक्ष सीमा गर्बुजा पुनले बताइन् । 

 

उपाध्यक्ष पुनले स्थानीय उत्पादनको बजारीकरणका लागि कोसेली घर निर्माण गर्ने गाउँपालिकाको योजना रहेको जानकारी दिइन् । जलजला वडा नम्बर ४ का वडाध्यक्ष भीष्म मल्लले दुना-टपरी प्रयोग गरेर वडालाई प्लास्टिकमुक्त बनाउने योजना रहेको बताए । 

 

पूजाआजा, भोज, भतेर र कार्यक्रममा प्लास्टिक प्लेटको विकल्पमा दुना-टपरी प्रयोगमा ल्याउने योजना अघि सारिएको छ । कामना आमा समूहकी अध्यक्ष चिनु जिसीले विद्युतीय मेसिन भएपछि दुना-टपरी उत्पादन गर्ने समय र लागत घट्ने बताइन् । 

 

पूजा, विवाह, ब्रतबन्धजस्ता धार्मिक कार्यमा दुना-टपरीको प्रयोग हुन्छ । गाउँपालिकाले यसअघि दुना-टपरी उद्योग सञ्चालन गर्न वडा नम्बर ४ को खोलाखेतमा सामुदायिक भवनसमेत निर्माण गरेको छ ।

 

जलजलाको मल्लाज, धाइरिङ र नाग्लिवाङमा दुना-टपरी बनाउन प्रयोग हुने सालको जंगल छ ।