गुल्मी- गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ४ दिगाम सिनचौरका ३७ वर्षीय शिव परियारको परिवारले ६ वर्षदेखि बाँसले बारेको छाप्रोमा कष्टकर जीवन बिताएको छ ।
गएका ३ वटै तहका चुनावमा नेताले घर बनाइदिने आश्वासन दिएर भोट मागे । परियारले ओत आशमा भोट दिए तर नेताले चुनावी वाचा पूरा गरेनन् । अहिले भोटपछि विपन्न परिवारले चोट पाएको छ ।
‘निर्वाचनमा घर बनाइदिने आश्वासन दिएर फोटोसमेत खिचे,’ शिवले भने, ‘मेरो भोटले नेता बने, हाम्रो अवस्था छाप्रोभन्दा माथि उठेन ।’ यो परिवार बाँसको छाप्रोमा राम्रोसँग ननिदाएको वर्षौं भयो । बर्खामास पानी चुहिएर बस्नै सकिँदैन ।
छाप्रोमा शिवसहित आमा र छोराछोरी गरी ४ जनाको परिवार बस्दै आएका छन् । सोही वडाका वडाध्यक्ष डिलाराम न्यौपानेले त्यो परिवारको विषयमा जानकारी भए पनि कार्यविधिले गर्दा घर बनाउन नसकिएको बताए ।
राजनीति गर्नेले मागेको कुरा सबै पूरा गर्न नसकिने आफूलाई बल्ल आएर महसुस भएको उनले सुनाए ।
शिवलाई राज्यले मात्र होइन, दैवले पनि ठगेको छ । उनले तम्घासमा ३ वर्षसम्म सिलाई सिकेका थिए । त्यसपछि श्रीमती लिएर बुटवल झरे ।
बुटवलमा १ छोरा र १ छोरी जन्मिए । थप कमाइ हुने आशले कालिगढ कामकै लागि आफन्तको साथमा २०७६ फागुनमा काठमाडौं गए । काठमाडौंमा काम गर्ने कालिगढकी साहूनीले सच्चाइमा लगेर गइन् ।
सच्चाइ भन्ने कार्यक्रम क्रिस्चियन धर्मको रहेछ । त्यसपछि आफूलाई मानसिक रोग लागेको परियार सुनाउँछन् । लकडाउन भएकाले उनलाई उपचारमा गाह्रो भयो । आफन्तले बल्लतल्ल अस्पताल पुर्याए ।
उनी उपचारबाट फर्केपछि श्रीमतीले कुटपीट गरेर घर छाडिन् । शिवको टाउकोमा श्रीमतीले हानेको चोट अझै आलै छ । अहिले पनि पटक-पटक मानसिक समस्या बल्झिने गरेको छ ।
उनका अनुसार अहिलेसम्म विभिन्न उपचारमा खर्च गरेको करिब ७ लाख रुपैयाँ ऋण छ । ‘ऋणधन गरेर आफन्तले औषधी गराए । ऋण तिर्न अझै बाँकी छ,’ उनले भने, ‘भाग्यले नै ठगेपछि कसको के लाग्छ ?’
६० वर्षीया आमा शान्ताको पनि हात भाँचिएको छ । उपचार गर्न सकेनन् । कमजोर हातसँगै बुढेसकालमा पनि परिवारकै लागि गाउँमा मेलापात गर्छिन् ।