close

कोखका सन्तानले आश्रम पठाए, साघुँरो आश्रममा आँसु झार्दै समय कटाए

बिरानो भए सन्तान, पुरानो भयो आश्रम, अब जाने कहाँ ?

कोखका सन्तानले आश्रम पठाए, साघुँरो आश्रममा आँसु झार्दै समय कटाए

बिरानो भए सन्तान, पुरानो भयो आश्रम, अब जाने कहाँ ?

Trulli
ADVERTISEMENT

गुल्मी– ८९ वर्षीया सचिदानन्द सरस्वती दुवै हातमा लठ्ठी टेकेर पनि राम्रोसँग हिडन सक्दिनन् । उनी आश्रममा बस्न थालेकै ५० वर्ष बित्यो । दैनिक उमेर र रोगले च्यापेको छ ।


दिसापिसाब र बिरामीले थला परे सिरानीमा च्यापेको औषधी खाने उपाय छैन । त्यस्तै, ६३ वर्षीया भागिरथा भण्डारी पनि २०५० देखि आश्रम आएकी हुन् ।


उनले १३ वर्षमा बिहे गरिन् । २० वर्षमा श्रीमान थानिश्वर भण्डारी बिते । छोराछोरी जन्मिएका थिएनन् । बालकमै एकल बनिन् । अब केको आशले घर–माइत गर्ने । अन्तिममा आश्रम नै बुढेसकालको दुःख टेकाउने थलो बनेको छ ।


तुल्सा पाण्डेय पनि ८३ वर्षकी भइन् । घरमा छोरीबुहारी छन् । तर, उनलाई घरमा बस्न मन लागेन । पाण्डेय आश्रम आएको ३ वर्ष भयो ।


सबै आमाहरूका परिवारसँगै उमेरअनुसारका आ–आफ्नै पीडा छन् । उनीहरू खुलेर बोल्दैनन् । दुःख लुकाएरै भए पनि परिवारलाई दोष दिँदैनन् । बरु भगवान् सम्झेर जीवन बिताइरहेका छन् ।


यो आश्रम कालीगण्डकी र बढीगाड नदीको संगममा पर्छ । आश्रममा १९८० देखि नै वृद्धवृद्धाहरू बस्थे । अहिले पनि ४० देखि ९५ वर्षसम्मका ४८ जना आमाहरू आश्रममा बस्दै आएका छन् । अहिले सबैको उमेर ढल्किएकाले कसरी एक गाग्रो पानी बोकेर बिहान–साँझ पकाउने भन्ने समस्या छ ।


अधिकांश आमाहरू तारकेश्वर बाबाले निर्माण गरेका पुराना र जीर्ण स–साना कुटीमा आश्रय लिइरहेका छन् । पुराना कुटीमा राम्रोसँग खुट्टा पसारेर सुत्न मिल्दैन । जस्तापाता खिइँदा पानी परेर चुहिँदा निद्रा पर्दैन ।


 
राममन्दिर तारकेशवर प्रमानन्द संन्यासाश्रम व्यवस्थापनका लागि समिति छ । त्यही समितिकै सहयोगमा संस्थाका आश्रमाधीश नारायणनन्द सरस्वतीले आमाहरूको रेखदेख गरेका छन् ।


उनी वृद्ध भएकाले सहारा खोज्ने भएका छन् । वृद्धवृद्धाहरूको घरमै चित्त बुझाउन त गाह्रो पर्छ । अझ घर छाडेरै आश्रम पुगेकाहरूलाई व्यवस्थापन गर्न कति गाह्रो होला ?


यो आश्रममा अहिले विभिन्न व्यक्तिको सहयोगमा आमाहरूलाई खाना खुवाउने व्यवस्था गरिएको छ । तर, आमाहरूलाई सुविधाजनक रूपमा बस्न भौतिक संरचना अभाव छ ।


आश्रममा आउने पाहुनाहरूलाई पनि बास बस्नुपरे राम्रो सुविधा छैन । आश्रमाधीश नारायणनन्द सरस्वतीले बल्लबल्ल आमाहरूलाई खाना खुवाउन मात्र सकिएको गुनासो गरे ।


आमाहरूको बसाइ अप्ठेरोसँगै वृद्धावस्थामा आउने स्वास्थ्य र शारीरिक समस्या पनि आफूहरूका लागि निकै चुनौती रहेको उनले सुनाए ।

 

विश्वमै एक मात्र शालिग्राम शिला पाइने रुद्रवेणी क्षेत्रसँगैको पुरानो आश्रमका विषयमा सरकारको खासै चासो देखिँदैन । राम मन्दिरमा करिब २७ हजार शालिग्राम छन् । तर, आश्रमसँगै शालिग्राम संरक्षणको विषय गुमनाम बन्दै आएको छ ।


दुई २ नदी कालीगण्डकी र बडीगाढको कटानले आश्रमसँगै रुद्रवेणी क्षेत्र बर्सेनि कटान हुँदै गएको छ । ठूलो बर्खामा २ नदीमा बाढी आउँदा आश्रम खाली गर्नुपर्ने अवस्था छ ।


तर, तटबन्धमा कसैको चासो र ध्यानाकर्षण भएको छैन । सत्यवति गाउँपालिका प्रमुख पारिश्वर ढकालले महत्त्वपूर्ण र ऐतिहासिक ठाउँ २ नदीको चपेटामा परे पनि ठूलो बजेट आवश्यक भएकाले ३ वटै तहका सरकारले सहयोग गर्नुपर्ने बताए ।


केही साना संरचनामा पालिकाले सहयोग गरिरहे पनि ठूलो बजेट विनियोजन गरेर आश्रममा थुप्रै काम गर्नुपर्ने अवस्था रहेको उनले औँल्याए ।


परिवारबाट टाढा रहेका आमाहरू त्यत्तिकै पनि बुढेसकाल र उमेरसँगै आउने समस्याले पीडित छन् । आश्रममा पहिले बिरामी परे एकअर्कोलाई सहयोग गर्थे । अहिले अधिकांशको उमेर ढल्किएको छ ।


आमाहरू राम्रोसँग औषधी खानसमेत सक्दैनन् । उनीहरूलाई यो बेला राम्रो सुसारेको आवश्यक छ । केही दिनअघि आश्रमका आमाहरूलाई सामूहिक भोजन र कम्बल वितरणमा पुगेकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई पनि उनीहरूले बुढेसकाल र स्वास्थ्य समस्याबारे गुनासो राखे, समस्याका विस्कुन लगाउँदै आँशु खसाए ।


शर्माले आश्रमको भौतिक संरचना र कटानको विषयमा ३ वटै सरकारसँग समन्वय र ध्यानाकर्षण गराउने बताइन् । अब आश्रमका आमाहरूको अवस्था दैनिकक नाजुक बन्दै गएकाले सुसारेहरूको आवश्यकता महसुस भएको उनले प्रतिक्रिया दिइन् ।

 

गाउँका दरबारजस्ता घरहरूमा उमेर ढल्किएका बाआमा मात्रै छन् । छोरा परदेश र बुहारी छोरोछोरी पढाउन बजार पसेपछि वृद्धहरूको समय कटाउने कुनै माध्यम गाउँमा छैनन् ।


त्यसैले ‘एक स्थानीय तह एक ज्येष्ठ नागरिक दिवा सेवा वा मनोरञ्जन स्थल अपरिहार्य छ, जहाँ उनीहरू खाना खाएर भेला हुन्छन्, विभिन्न धर्मग्रन्थ पढ्छन्, टिभी र इन्टरनेटमार्फत प्रवचन, भक्ति संगीत र गीत संगीत हेरुन् र सुनून् ।


इन्टरनेटमा छोराबुहारी र नातिनातिनासँग भिडियो हेरेर कुरा गरुन् । आमाहरूले सुख–दुःखका कुरा गर्दै त्यही बसेर बत्ती काटून्, जसले आश्रमको विकल्प खोज्नेछ ।