मोरङ– गुरुकुल शिक्षा राज्यको उपेक्षामा पर्दा विद्यार्थीहरू कष्टकर रूपमा शिक्षा लिन बाध्य छन् । सरकारले गुरुकुल शिक्षालाई उपेक्षा गरेकै कारण धेरै विद्यार्थीको अवस्था दयनीय रहेको भेटिएको हो ।
यसको एउटा उदाहरण हो, मोरङको लेटाङ नगरपालिका वडा नम्बर ९ मा रहेको बैजनाथ अधिकारी प्रारम्भिक संस्कृत विद्यापीठ । संस्कृत भाषाको पढाइ हुने गरेको यस विद्यालयमा २९ जना विद्यार्थी छन् ।
यहाँ पढ्ने विद्यार्थीहरू अहिले पनि गाउँ–गाउँ गएर अन्नबाली संकलन गर्छन् । पढाइ खर्चकै लागि उनीहरूले यस्तो गरेका हुन् । ‘बाली थन्क्याउने सिजनमा गाउँ–गाउँमा गएर अन्नबाली मागेर ल्याउँछौँ । ल्याएको अन्नबाली वर्षभरिलाई खान पुर्याउनुपर्छ’, विद्यार्थी समीर घिमिरेले भने ।
गुरुकुलसँग जोडिएको संस्कृत शिक्षा जीवनोपयोगी र व्यावहारिक मानिन्छ । घरमा नबसी गुरुका अधीनमा रहेर ब्रह्मचार्यपूर्वक त्याग एवं तपस्यायुक्त जीवनयापन गर्दै विद्या आर्जन गर्नु परम्परागत गुरुकुल शिक्षा प्रणालीको उद्देश्य हो ।
यो विद्यालयमा २ जना शिक्षक र १ जना कर्मचारी छन् । गास, बास र कपाससहितको शिक्षा दिनुपर्ने भएकाले अन्नबाली संकलन गर्नु परेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष घनश्याम खतिवडाले बताए ।
जंगलको बीचमा रहेको विद्यालयमा हात्ती तथा अन्य जंगली जनावरको समेत डर हुने गरेको विद्यार्थी बताउँछन् । विद्यालयका भवन सामान्य भएकाले विद्यार्थी (वटुक) को सुरक्षाका लागि राती अबेरसम्म जागै बस्ने गरेको गुरुकुलका प्रधानाध्यापक एकराज भट्टराईले सुनाए । ६ वर्षको उमेरमा गुरुकुल प्रवेश गर्नुपर्ने हुन्छ । नेपालमा प्राचीनकालदेखि चलिरहेको गुरुकुल शिक्षा अहिले हराउँदै गएकामा उनको चिन्ता छ ।
सरकारकै उपेक्षाका गुरुकुल शिक्षामा आकर्षण कम हुँदै गएको भट्टराई बताउँछन् । सरकारले ध्यान नदिँदा विभिन्न जातजाति तथा धर्म–संस्कारसँग जोडिएका पठन–पाठन बन्द हुने अवस्थामा पुगेको स्थानीय पेरिस सुवेदीको भनाइ छ ।
विद्यालय भवनको एउटा कोठामा धानचामल राख्ने गरिएको छ । विद्यार्थीलाई सुत्न–बस्नसमेत समस्या छ । सहरका महँगा विद्यालयमा पठन–पाठन गर्ने प्रचलन बढिरहेका बेला प्राचीन धर्म–संस्कृतिको धरोहर संरक्षणको अभिन्न अंग गुरुकुल शिक्षा लिने विद्यार्थी तथा विद्यालय परिवार नै दाताको भरमा अडिनुपरेको छ ।
विद्यालयको अवस्था हेर्दा नेपालमा सरकारै छैन भन्ने आभाष भएको विराटनगरबाट विद्यार्थीका लागि केही सामग्री लिएर आएका भवेश पौडेलले बताए । राज्यको लगानी न्यून भएकै कारण गुरुकुल पढ्ने विद्यार्थी मारमा पर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला तथा निर्वाचन क्षेत्रसँगै जोडिएको यो गुरुकुलका लागि लेटाङ नगरपालिकाले वार्षिक २ लाख ४० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । यो विद्यालयलाई गत वर्ष प्रदेश सभासद् उपेन्द्र घिमिरेले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत केही रकम उपलब्ध गराएका थिए ।