close

टिमुरे तालमा आन्तरिक पर्यटकको ओइरो (भिडियो खबर)

टिमुरे तालमा आन्तरिक पर्यटकको ओइरो (भिडियो खबर)

ADVERTISEMENT

गुल्मी- गुल्मीको टिमुरे ताल पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । चन्द्रकोट गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको टिमुरे तालमा पछिल्लो समय दृश्यावलोकन गर्न, आनन्द लिन र वनभोजका लागि आउनेको संख्या वृद्धि भएको हो ।

 

टिमुरे ताल लामो समयदेखि प्रचार-प्रसार अभावमा ओझेल परे पनि पछिल्लो समय भने घुम्न तथा वनभोजका लागि आउनेहरू बढेका छन् । तर, राज्यले अझै पनि यसको संरक्षण, प्रवर्द्धन गर्न सकेका छैन

गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ मा पर्ने टिमुरे ताल जिल्लाकै आकर्षक पर्यटकीय गन्तव्य हो । १ हजार ७ सय ५० मिटरको उचाइमा अवस्थित सुन्दर र प्राकृतिक टिमुरे तालले जोकोहीको मन लोभ्याउँछ ।

 

तालसँगै टिमुरेबाट सूर्योदय र सूर्यास्त, उत्तरका मनमोहक हिमशृंखला र टिमुरे क्षेत्र वरपरको वातावरण निकै आकर्षक लाग्छ । पर्यटकलाई थप आकर्षण गर्न गत वर्षदेखि टिमुरे तालमा डुंगा सञ्चालन गरिएको छ ।

 

टिमुरे क्षेत्रको प्रचार-प्रसार र विकासमा थप टेवा पुर्‍याउने उद्देश्यले स्थानीय ६ जना युवाले १ करोड रुपैयाँ लगानी गरेर सामूहिक रूपमा डुंगासँगै, रिसोर्ट, गुलेली पिङ र अन्य पर्यटकीय पूर्वाधार निर्माण योजना अगाडि बढाएको स्थानीय सन्तबहादुर श्रीसले बताए ।

 

शिरमा पर्यटकीय क्षेत्र टिमुरे । पाउमा शान्तिपुर बजार । बीचको समथर रेमीगाउँ पनि वातावरणीय दृष्टिले निकै रमणीय छ । शान्तिपुर बजारबाट गाडीमा करिब २० मिनेट उकालो चढेपछि रेमीको टिमुरे सामुदायिक होमस्टे पुगिन्छ ।

 

चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ को रेमीगाउँमा रानामगर, पुन, श्रीस र नेवारलगायत करिब डेढ सय जनजाति समुदाय बसोबास गर्छन् । धेरै ठाउँ बसाइसराइँको चपेटामा परिरहेका बेला रेमीगाउँमा त्यसको प्रभाव खासै छैन् । 

 

टिमुरे तालको नजिकै पर्ने भएकाले त्यसको पहिचान स्थापित गर्न, गाउँका उत्पादन र कला-संस्कृतिको संरक्षण गर्न रेमीगाउँमा होमस्टे सञ्चालन गरिएको टिमुरे सामुदायिक होमस्टेका  सञ्चालक लीलबहादुर पुनले जानकारी दिए ।


पर्यटक मनोरञ्जनकै लागि होमस्टे पुग्छन् । पर्यटकलाई खानपान, बसाइ र कला-संस्कृतिले नै आकर्षित गर्ने हो । त्यसमा रेमीगाउँ अब्बल छ । नजिकका शान्तिपुर बजार र टिमुरे तालका कारण यो होमस्टेको भविष्य राम्रो भए पनि निरन्तर आम्दानी नहुने र सामाजिक सोचका कारण सञ्चालनको चुनौती पनि उत्तिकै रहेको होमस्टे सञ्चालक लइमी रानाले बताए ।


पछिल्लो समय तालको पानी घट्दै गएको छ । यो विषय स्थानीय सरकारलाई पनि महसुस नभएको होइन । यसको विषयमा तीनै तहका सरकार गम्भीर नबनेको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्री सुनाउँछन् ।