close

बर्दिबासमा करोडौँ लगानीका होटल, व्यापार नहुँदा लगानी डुब्ने चिन्ता 

बर्दिबासमा करोडौँ लगानीका होटल, व्यापार नहुँदा लगानी डुब्ने चिन्ता 

Trulli
ADVERTISEMENT

महोत्तरी- ओखलढुंगाबाट भर्खरै बर्दिबास नगरपालिकाको वडा नम्बर ३ मा ५० लाख रुपैयाँ लगानी लगाएर होटल थकाली सञ्चालन गरेपछि विष्णु ढुंगेल लगानी फस्ने चिन्तामा छन् । 

 

पर्यटनको सम्भावना र व्यापारिक महत्त्व भएकाले बर्दिबासमै आएर लगानी गरे पनि व्यापारमैत्री वातावरण नहुँदा चिन्ता बढेको उनी सुनाउँछन् ।

 

ढुंगेलजस्तै बाहिरबाट अरूले गरेको चर्चा र अध्ययनको आधारमा होटल क्षेत्रमै लगानी गर्न हौसिएका तर लगानी गरेपछि कतै गल्ती पो गरेँ कि भन्ने महसुस गर्ने बर्दिबासमा अहिले १ दर्जन व्यवसायी छन् ।

 

‘होटल जेनतेन चलिरहेको छ तर जुन सोचअनुसार लगानी गरिएको थियो, त्यस्तो खासै वातावरण बन्न सकेको छैन’, भर्खरै होटल खुकुरीको नामबाट सञ्चालनमा आएको खुकुरी होटलका सञ्चालक विनोद थापाले भने ।

 

थापा र ढुंगेल बर्दिबासमा होटल व्यवसाय गर्ने प्रतिनिधि उदाहरण मात्र हुन् । उनीहरूजस्तै होटल क्षेत्रमा लगानी गर्ने साना तथा ठूला लगानीकर्ताले टाउकोमा हात राखेर बस्नुपर्ने अवस्था सिर्जना भएको छ ।

 

अस्वस्थ प्रतिस्पर्धा, स्थानीय सरकारको बेवास्ताले होटल क्षेत्रमा लगानी गरिरहेकाले समस्या झेल्नुपरेको नेपाल होटल व्यवसायी संघ महोत्तरीका सचिव नारायण घिमिरे बताउँछन् । भएका पर्यटकीय स्थलको उपयुक्त संरक्षण गर्न नसक्नु र पर्यटनका सम्भावनालाई बेवास्ता गर्नुको कारणले पनि होटल व्यवसायी मारमा परिरहेको घिमिरेको बुझाइ छ ।

 

बर्दिबास होटल व्यवसायी संघका संयोजक तथा होटल गुन्जका सञ्चालक गोपाल कार्कीको पनि घिमिरेको जस्तै मत छ । स्थानीय सरकारले भएका पर्यटकीय स्थल संरक्षण गर्ने हो भने होटल व्यवसायी मात्र होइन, सर्वसाधारणमा समेत आर्थिक विकास हुने कार्कीको सुझाव छ ।

 

होटल गुन्जमा ४ करोड रुपैयाँभन्दा बढी लगानी गरेको बताउँदै कार्कीले भने, ‘मैले २० जनालाई प्रत्यक्ष रोजगारी दिएको छु । नगरपालिकालाई महँगो कर तिर्नुपर्छ । तैपनि होटल व्यवसायलाई व्यापारमैत्री बनाउन स्थानीय सरकारले जिम्मेवारीबोध गर्न सकेको छैन ।’

 

१ करोड रुपैयाँभन्दा बढी लगानीमा अहिले बर्दिबास रिसोर्ट, विनायक होटल, गुन्ज होटल, गौतम होटल, होटल नाभ्या, पावन मिथिला सञ्चालनमा छन् भने होटल नाभ्याले भर्खरै ३ तारेको अनुमति पाएको छ । यसबाहेक ३९ वटा लजसहितका होटल सञ्चालनमा छन् ।

 

४६ करोड रुपैयाँ लगानीमा भर्खरै होटल नाभ्या सञ्चालनमा आएको छ । अहिलेसम्मकै उच्च लगानी गरिएको होटल नाभ्याले प्रारम्भिक चरणमै ३ तारे स्टारको मान्यता पाएको छ । तर, लगानी उठाउनु त परको कुरा हो, कर्मचारी पाल्नसमेत धौ–धौ परिरहेको होटल नाभ्याका सञ्चालक सुधीर अग्रवालले बताए ।

 

बर्दिबास पर्यटकीय महत्त्वको ठाउँ हो । यहाँबाट नेपालको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिर ४० किलोमिटर दूरीमा छ भने टुटेश्वर मन्दिर, पञ्चधुरा मन्दिर, माईस्थानजस्ता मन्दिर रहेकाले बर्दिबास हिन्दु धर्मावलम्बीका लागि पवित्र तीर्थस्थलसमेत मानिन्छ । 

 

बर्दिबासको सीमा पहाडी जिल्ला सिन्धुलीसँग जोडिएकाले पनि हावापानीका हिसाबले उपयुक्त छ । बर्दिबासको वडा नम्बर १० र ११ पुगेपछि प्राकृतिक मनमोहक दृश्यले जोकोहीलाई लोभ्याउने गर्छ ।

 

वडा नम्बर १० को भांग्रे, झ्याउरे, दमाहाजस्ता डाँडामा उक्लेपछि जोकोहीले छुट्टै आनन्द लिन सक्छन् । यति धेरै पर्यटकीय सम्भावना हुँदाहुँदै पनि स्थानीय सरकारले ध्यान पु¥याउन नसक्नु ठूलो कमजोरी भएको स्थानीय बताउँछन् ।