close

नेपाल भाषा पढाउनेलाई महानगरको प्रशिक्षण  

नेपाल भाषा पढाउनेलाई महानगरको प्रशिक्षण  

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौं महानगरपालिकाले ‘नेपाल भाषा पढाउने शिक्षकलाई तालिम दिन सुरु गरेको छ । स्थानीय भाषाको विकास गर्ने उद्देश्यले नेपाल भाषामै स्थानीय पाठ्यक्रम पढाउन लागेको महानगरले जनाएको छ । ३ दिनसम्म चल्ने प्रशिक्षण नेवाः स्यनामि दबू नेपालमण्डलको संयोजनमा महानगरको शिक्षा विभागले आयोजना गरेको हो ।


‘हामीले नगरसभाबाट सर्वसम्मत निर्णय गरेर स्थानीय पाठ्यक्रम तर्जुमा गरेका हौँ । यो महानगरको संस्थागत निर्णय हो । थालनी भएकोले यसमा केही सुधार गर्नुपर्ने पक्ष हुन सक्छन्’, काठमाडांै महानगरप्रमुख विद्यासुन्दर शाक्यले भने, ‘नीतिगत व्यवस्थालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक छ ।’

 

नेपाल भाषा व्यवस्थापन समितिका सदस्यसचिव मोती खनालका अनुसार पाठ्यपुस्तकमा महानगरभित्रका चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक स्वरूप, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपिजस्ता विषय समेटिएका छन् । 

 

‘पाठ्यपुस्तकमा काठमाडौंका प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपि, परम्परागत खेलजस्ता विषय समेटिएका छन् । बालबालिकालाई नेवार भाषा लाद्ने गरी होइन । परम्परागत ज्ञान सीपबारे जानकारी दिने गरी पाठ्यक्रम विकास गरिएको हो । 

 

खनालका अनुसार बालबालिकालाई सिक्न सजिलो होस् भन्ने उद्देश्यले कक्षा १ देखि ३ सम्म १०० पूर्णांकमा १०० नै अभ्यासगत पठनपाठन हुनेछ । त्यस्तै, कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठनपाठन हुनेछ । कक्षा ६, ७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठनपाठन हुने व्यवस्था गरिएको छ । 

 

शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीका अनुसार निर्णय कार्यान्वयन गराउन सबै संयन्त्र र प्रणालीलाई सक्रिय बनाइएको छ । यो कार्यान्वयनमा आएपछि अरू भाषालाई पनि आ–आफ्ना भाषामा पठनपाठन गराउन प्रेरणा मिल्नेछ ।

 

कार्यक्रममा नेवाः स्यनामि दबूका पदाधिकारी कृष्णभक्त श्रेष्ठ र वरुणप्रसाद वैद्यले सम्पदा, संस्कृति र परम्पराको पुस्तान्तरण तथा विस्तारका लागि यो महानगरको महत्त्वपूर्ण निर्णय भएको बताए । 

 

काठमाडौं महानगरले स्थानीय पाठ्यक्रम ‘येँ देय् म्हसीके’ पठनपाठन गराउन १ सय ७२ जना प्रशिक्षण सहायकसँग करार सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको छ । प्रक्रियाबाट छनोट हुनेलाई अहिलेको तालिमका सहभागी प्रशिक्षकले प्रशिक्षण दिनेछन् ।