close

नारी दिवस मनाउँदै फक्ताङ्लुङ

नारी दिवस मनाउँदै फक्ताङ्लुङ

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ‘एक दिन होइन, हरेक दिन उत्साहित, आत्मर्निभर तथा सक्षम बनौँ र निडर होऔँ’ नारासहित ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले सोमबार सिँवा बजारमा १ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउने भएको छ । 
 

फक्ताङ्लुङ गाउँपालिकाले वडा नम्बर ३ लिङ्खिमस्थित सिँवा बजारमा महिला अधिकारसम्बन्धी नृत्य, गायन, गजल, नाटक र कविता प्रतियोगिताका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाउन लागेको हो ।

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठका अनुसार मनोरञ्जनात्मक कार्यक्रममा हाँडी फुटाइ तथा म्युजिकल चेयर प्रतियोगितासमेत हुनेछन् ।

 

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनासम्मको स्थान ओगट्ने प्रतिस्पर्धीलाई पुरस्कार तथा प्रमाणपत्र दिइने प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए । 

 

फक्ताङ्लुङको महिला तथा बालबालिका शाखाले आयोजना गरेको कार्यक्रम गाउँपालिका उपाध्यक्ष फुलमाया लिम्बूको प्रमुख आतिथ्यमा हुनेछ ।

 

यस वर्ष नेपालमा ‘महिलाको सुरक्षा, सम्मान रोजगार: समृद्ध नेपालको आधार’ नारासहित यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघको निर्णयअनुसार सन् १९०९ (१९६६) देखि अन्तर्राष्ट्रिय नारी दिवस मनाउने परम्परा थालनी भएको हो । सन् १९०९ देखि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालिए पनि सुरुमा दिवस मनाउने खास दिन तोकिएको थिएन । फरक-फरक वर्षमा फरक-फरक दिनमा मनाउँदै आएकामा सन् १९१४ देखि मात्र हरेक वर्षको अंग्रेजी महिनाको मार्च ८ तारिखमा मनाइने गरी निश्चित मिति तोकिएको हो ।

 

संसारका विभिन्न देशले ५० औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइसकेपछि मात्र नेपालमा २०१६ मा प्रधानमन्त्री बिपी कोइरालाको पालादेखि नियमित रूपमा यो दिवस मनाउन थालिएको हो । अन्तर्राष्ट्रिय दस्तावेजअनुसार संयुक्त राष्ट्रसंघले अन्तराष्ट्रिय नारी दिवस मनाउने भनी निर्णय गरेको वर्ष सन् १९०९ सम्म संसारमा नारीलाई मत दिने अधिकार केवल न्युजिल्यान्ड, अस्ट्रेलिया र फिनल्यान्ड गरी ३ देशमा मात्र सीमित थियो । 


न्युजिल्यान्डमा सन् १८३० मा,अस्ट्रेलियामा सन् १९०२ मा र फिनल्यान्डमा सन् १९०६ मा महिलाले मत दिने अधिकार पाएका थिए ।

 

नारीलाई पुरुषसरह अधिकार र स्वतन्त्रता दिन संयुक्त राष्ट्रसंघबाटै अन्तर्राष्ट्रिय नारी दिवस मनाइन थालेपछि मात्र रुसमा सन् १९१७ मा, बेलायतमा सन् १९१८ मा, अमेरिकामा सन् १९२० मा, फ्रान्समा सन् १९४५ मा, जापानमा सन् १९४६ मा, इरानमा सन् १९६३ मा र स्विट्जरल्यान्डमा सन् १९७१ मा नारीलाई मतदान दिने अधिकार प्राप्त भएको थियो ।

 

नेपालमा भने प्रजातन्त्र प्राप्तिसँगै २००७ देखि नै प्राप्त भएको हो । भारतले भने त्यहाँको अधिवेशनमा एक प्रस्ताव पारित गरी भारतीय राष्ट्रिय कंग्रेसले नारीलाई मत दिने अधिकार दिन माग गरेकामा त्यसबेला त्यो मागलाई घरेलु समस्या भनी पन्छाइयो । 

 

पछि सन् १९२० देखि १९२९को बीचमा विभिन्न प्रस्ताव पारित गर्दै अन्त्यमा नारीलाई मत दिने अधिकार दिइएको हो ।