close

हजार दिनका आमासँग मंगलाको उपाध्यक्ष कार्यक्रम

हजार दिनका आमासँग मंगलाको उपाध्यक्ष कार्यक्रम

Trulli
ADVERTISEMENT

म्याग्दी– म्याग्दीको मंगला गाउँपालिकाले महिलाको पोषण सुधारका लागि हजार दिनका आमासँगै उपाध्यक्ष कार्यक्रम सुरु गरेको छ । 

 

गर्भवती, सुत्केरी, २ वर्षसम्मका बच्चा एवं आमाको पोषण, सरसफाइ र स्वास्थ्य सुधारका लागि सचेतना फैलाउन कार्यक्रम सुरु गरेको हो ।

 

कार्यक्रममार्फत गर्भवती, सुत्केरी र बच्चाको खानपान, स्याहार–सुसार, सरसफाइबारे जानकारी गराउनुका साथै सामग्री वितरण गर्न थालिएको उपाध्यक्ष सिर्जना केसीले बताइन् । 

 

वडा नम्बर ३ बरंजामा बुधबार हजार दिनका आमाहरूलाई सरसफाइका सामग्री वितरण गरेर कार्यक्रम सुरु गरिएको थियो । वडा नम्बर ३ र ४ का ६० जना आमालाई बच्चाको स्याहारसुसार र सरसफाइमा आवश्यक पर्ने ९ प्रकारका सामग्री वितरण गरिएको उपाध्यक्ष केसीले जानकारी दिइन् । 

 

गाउँपालिकाको ५ वटै वडामा पुगेर गर्भवती र २ वर्षसम्मका बच्चाका आमालाई अभिमुखीकरणका साथै स्वास्थ्य सामग्री वितरण गर्ने कार्यक्रम छ । ‘३ सय जनालाई सामग्री वितरण गर्ने लक्ष्य राखेका छौँ’, उपाध्यक्ष केसीले भनिन् ।

 

हजार दिनका आमासँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले चालू आर्थिक वर्षमा ५ लाख रुपैयाँ विनियोजन गरेको छ । गत वर्ष कोरोनाको जोखिम र लकडाउनका कारण कार्यक्रम सञ्चालन हुन सकेको थिएन । 

 

मंगलाको वडा नम्बर ३ का वडाध्यक्ष कवीन्द्र रोकाको अध्यक्षतामा बरंजा स्वास्थ्य चौकीमा भएको अभिमुखीकरण तथा स्वास्थ्य सामग्री वितरण कार्यक्रममा उपाध्यक्ष केसी, स्वास्थ्य शाखा संयोजक लेखनाथ रोका र स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको उपस्थिति थियो ।

 

यसैगरी उपाध्यक्ष केसी, इञ्जिनियर सुजन पौडेल र वडाध्यक्ष रोकासहितको टोलीले बरंजाका विभिन्न ठाउँमा निर्माण सम्पन्न भएका योजनाको अनुगमनसमेत गरेको छ ।