close

नमोबुद्धका १ सय २१ जनाले देखे संसार

नमोबुद्धका १ सय २१ जनाले देखे संसार

Trulli
ADVERTISEMENT

काभ्रे- काभ्रेको नमोबुद्ध नगरपालिकामा १ सय २१ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । 


रेयुकाई मासुनागा आँखा अस्पतालको प्राविधिक सहयोगमा बिहीबार र शुक्रबार आयोजित शिविरमा १ सय २१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो ।

 

नमोबुद्ध नगरपालिका, लायन्स क्लब अफ काठमाडौं टेम्पल चण्डेश्वरी र लियो क्लब अफ काठमाडौं टेम्पल चण्डेश्वरीले संयुक्त रूपमा शिविर आयोजना गरेका हुन् ।

 

शिविरको सह-आयोजकको रूपमा काभ्रेपलाञ्चोक चेम्बर अफ कमर्स रहेको थियो । नमोबुद्धका विभिन्न ७ स्थानमा शिविर सञ्चालन गरिसकिएको छ । 

 

शिविरमा मोतियाबिन्दुका बिरामीको २ दिनसम्म रेयुकाई आँखा अस्पताल बनेपाको भकुन्डेबेँसीस्थित सेवा केन्द्रमा शिविर सञ्चालन गरी शल्यक्रिया गरिएको हो ।

 

अस्पतालले भकुन्डेबेँसी सेवा केन्द्रमा पहिलो पटक यति धेरै बिरामीको एकै पटक मोतियाबिन्दुको शल्यक्रिया गरेको रेयुकाई मासुनागा आँखा अस्पतालका महासचिव हिरामणि शर्माले जानकारी दिए । शर्माका अनुसार पहिलो दिन ५२ जना र दोस्रो दिन ६९ जनाको शल्यक्रिया गरिएको छ । 

 

नगरका विभिन्न स्थानमा आयोजना गरिएको शिविरमा १२७० जनाको परीक्षण र उपचार गरिएकामा १७४ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको थियो । २ दिनसम्मको शिविरमा शल्यक्रिया गर्न नगएका बिरामीले रेयुकाई आँखा अस्पताल बनेपामा पुगेर निःशुल्क शल्यक्रिया गराउन सक्नेछन् । 

 

शल्यक्रियाका लागि गाउँ-गाउँबाट आएका बिरामीले अस्पताल र आयोजकप्रति आभार प्रकट गरे । शल्यक्रिया शिविरको समापनमा नमोबुद्धका नगरप्रमुख टिपी शर्मा तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेललगायतको उपस्थिति थियो ।

 

नमोबुद्धले विगतदेखि नै नगरमा मोतियाबिन्दु न्यूनीकरण अभियान सञ्चालन गरिरहेको छ । नगरपालिका र रेयुकाई मासुनागा आँखा अस्पतालको सहकार्यमा सञ्चालित अभियानबाट नगरका सयौँ मोतियाबिन्दुका बिरामी लाभान्वित भएका छन् ।