close

फेवा किनारमा पोखरा महानगरले बनायो सुन्दर पार्क 

फेवा किनारमा पोखरा महानगरले बनायो सुन्दर पार्क 

Trulli
ADVERTISEMENT

कास्की– कास्कीको पोखरा महानगरपालिकाले खुला ठाउँमा पार्क बनाउने काम निरन्तर गरिरहेको छ । महानगरले फेवाताल किनारमा नयाँ पार्क निर्माण गरेको छ । गौरीघाटको सौन्दर्यकरणका लागि पार्क बनाइएको हो । 

 

२ रोपनीभन्दा बढी जमिनलाई स्थानीय युवाको संयोजनमा आकर्षक बनाइएको छ । पोखरा महानगरपालिकाको १२ लाख ५० हजार रुपैयाँमा सौन्र्दयकरण गरिएको गौरीघाट पार्कका योजनाकार एवं व्यवस्थापन संयोजक अनिल थापाले जानकारी दिए ।

 

‘फेवाताल आफैंमा सुन्दर छ । विश्वका मान्छे यहाँ आउँछन्’, उनले भने, ‘ताल किनारमा यस्ता कुरूप दृष्य हटाउन पार्क बनायौँ ।’ ताल किनारमा पर्यटकलाई केही बेर भुल्ने र फोटो खिच्ने मेलो मिलेको उनले सुनाए । 

 

गौरीघाट पार्कको पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले उद्घाटन गरिन् । पोखराको विकासका लागि फेवातालको संरक्षणका लागि सौन्दर्य अनिवार्य रहेको उनले बताइन् ।

 

‘पोखरा भनेकै फेवा ताल हो । तालको डिलमा भएका खाली जमिनले पोखरा घुम्न आउने पर्यटकलाई नराम्रो सन्देश गएको छ’, उनले भनिन्, ‘पार्क बनाउँदा सुन्दरता पनि थपियो । आउनेहरूलाई टहलिने ठाउँ पनि भयो ।’

 

पार्कमा रहेका रूखको वैज्ञानिक नामकरण गरिएको छ भने आँखीझ्याल आकारको प्रवेशद्वार बनाइएको छ । ताल किनारमा भिजिट नेपाल लेखिएको स्ट्यान्ड राखिएको छ ।