close

मंगलटारमा प्रभावकारी बन्यो ‘एक आमा एक बाख्रा’ कार्यक्रम

मंगलटारमा प्रभावकारी बन्यो ‘एक आमा एक बाख्रा’ कार्यक्रम

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर ६ मंगलटारमा ‘एक आमा एक बाख्रा’ कार्यक्रम सुरु भएको छ । महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ वडा कार्यालय मंगलटारले ‘एक आमा एक बाख्रा’ कार्यक्रम लागू गरेको हो ।

 

महिलाको आयआर्जन शीर्षकमा विनियोजन गरिएको २ लाख रुपैयाँ बजेटबाट महिलालाई रोजाइअनुसार बाख्रा र माउ सुँगुरका पाठी वितरण गरिएको मंगलटारका वडाध्यक्ष रमेश राउतले बताए । 

 

चालू आर्थिक वर्ष विनियोजित रकमबाट शनिबार १० महिलालाई बाख्रा तथा २३ महिलालाई सँगुरका पाठा खरिद गरेर वितरण गरिएको छ । वडा कार्यालयको प्रोत्साहनमा स्थापना गरिएको मंगलटार महिला सहकारीमा महिलालाई आबद्ध गराउँदै आम्दानीमुखी बनाउने र नियमित बचतमा सघाउ पुर्‍याउने गरी बाख्रा तथा सुँगुरको पाठी वितरण गरिएको हो ।

 

पशुपालनबाट घर खर्चको जोहो गर्दै सहकारीमा मासिक रूपमा नियमित बचत गर्न टेवा पु¥याउने लक्ष्यका साथ बाख्रा तथा सुँगुर वितरण गरिएको हो । 

 

विनियोजित रकमबाट महिला आबद्ध समितिले नै बाख्रा तथा सुँगुरका पाठी खरिद गरेर अन्य महिलालाई वितरण गरिएको छ । नगरपालिकाको अनुदानमा बंगुर फार्म सञ्चालन गरिरहेका स्थानीय रवीन्द्र राईले सुँगुरका पाठा तथा रमेश परियारले बाख्रा उपलब्ध गराएको वडाध्यक्ष राउतले जानकारी दिए ।

 

३३ महिलालाई बाख्रा र सुँगुरका पाठा वितरण गर्दा केही रकम बचेको छ । बाँकी रहेको रकमबाट अझै ४/५ जना महिलालाई बाख्रा र सुँगुरका पाठी वितरण गर्न पुग्ने वडा कार्यालयले जनाएको छ । 

 

आर्थिक वर्ष २०७६/७७ मा वडा कार्यालयले २७ जना महिलालाई बाख्रा र सुँगुरका पाठो वितरण गरेको थियो ।‍