close

वालिङमा निःशुल्क प्रजनन स्वास्थ्य शिविर

वालिङमा निःशुल्क प्रजनन स्वास्थ्य शिविर

Trulli
ADVERTISEMENT

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर २ धनुबाँसे स्वास्थ्य चौकीमा १ दिने निःशुल्क प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

 

वालिङ नगरपालिकाको आयोजनामा गह्रौँ प्राथमिक अस्पतालका स्वास्थ्यकर्मीको सहयोगमा महिलाका लागि पाठेघरको मुखको क्यान्सर, स्क्रिनिङ, आङ खस्ने समस्या र यौन रोगसम्बन्धी परीक्षण गरी आवश्यक परामर्श तथा उपचार गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए ।


शिविर उद्घाटन गर्दै नगर प्रमुख दिलीपप्रताप खाँणले रोगलाई लुकाएर नबस्न नगरबासीलाई आग्रह गरे । समयमै परीक्षण गराई स्वास्थ्य लाभ लिन यस्ता शिविरले सहयोग पुग्ने उनको भनाइ छ ।

 

लाजका कारण रोगलाई लुकाउँदा त्यसले भोलिका दिनमा झन् जटिल समस्या सिर्जना गर्न सक्ने भएकाले समयमै स्वास्थ्यकर्मीसँग सरसल्लाह लिई उपचार गर्न उनले अपिल गरे ।

 

‘रोग लागिसकेपछि पछुताउनुभन्दा पनि रोग लाग्नै नदिनु सरल उपाय हो । त्यसका लागि आफ्नो स्वास्थ्यप्रति सबै सचेत हुन जरुरी छ,’ खाँणले भने । 


उपप्रमुख कल्पना तिवारीले नगरपालिकाले नगरका प्रत्येक १४ वटै वडामा यस खाले शिविर सञ्चालन गर्ने जानकारी दिइन् । वालिङका नागरिकको स्वास्थ्यमा पहुँच पुर्‍याउन नगरपालिका प्रतिबद्ध रहेको बताउँदै स्वास्थ्य सम्बन्धमा व्यक्तिलाई सचेत बनाउन सबैले सहयोग आवश्यक पर्ने उनको धारणा छ ।

 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई, कार्यपालिका सदस्य युगमाया पंगेनीले गाउँ–गाउँमा आएको स्वास्थ्य शिविरबाट आफ्नो स्वास्थ्य अवस्थाबारे परीक्षण गराई समयमै सुरक्षित रहन नगरबासीलाई आग्रह गरे ।