close

गुल्मीदरबार संस्थागत क्षमता सार्वजनिक गर्ने प्रदेशमै पहिलो पालिका

गुल्मीदरबार संस्थागत क्षमता सार्वजनिक गर्ने प्रदेशमै पहिलो पालिका

Trulli
ADVERTISEMENT

गुल्मी- गुल्मीको गुल्मीदरबार गाउँपालिका आव २०७६/७७ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) सार्वजनिक गर्ने लुम्बिनी प्रदेशमै पहिलो स्थानीय निकाय बनेको छ ।

 

गाउँपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जारी गरिएको कार्यविधिअनुसार लुम्बिनी प्रदेशमै पहिलो पटक र नेपालका ७५३ स्थानीय तहमा २३औँ नम्बरमा सार्वजनिक गरेको हो ।

 

विभिन्न १० वटा सूचकमा मूल्यांकन गरी पालिकाको कार्यप्रक्रिया र उपलब्धिबारे लेखाजोखा गरी सबल एवं दुर्बल पक्षको पहिचान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए ।

 

विकास तथा सुशासनमा रहेका कमी-कमजोरीको जानकारी लिन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वयको विषयगत क्षेत्रमा मन्त्रालयले तयार गरेको सफ्टवेयरमा विवरण प्रविष्ट गरिएको उनले जानकारी दिए ।

 

यस्तै, प्रक्रियागत स्थिति र परिमाणात्मक स्थिति कार्यपालिकाको बैठकबाट अनुमोदन गर्दै लुम्बिनी प्रदेशबाट पहिलो पटक र नेपालभरबाट २३औँ नम्बरमा परेको प्रमुख प्रशासकीय अधिकृत पाण्डेको दाबी छ ।

 

उनका अनुसार चालू आव २०७७/७८ का लागि उत्कृष्ट नतिजा प्राप्त गर्न तोकिएका क्षेत्रमा आवश्यक कार्यसमेत सम्पादन भइसकेका छन् । स्वमूल्यांकनका लागि आवश्यक मार्गदर्शन र समन्वय गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, पालिकाको प्रशासन यन्त्र र सहजीकरणमा जिल्ला समन्वय अधिकारी विजयकुमार कार्की एवं स्वतन्त्र विज्ञ सञ्जीवनी अर्यालको सहयोग रहेको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले जानकारी दिए ।