close

धवलागिरिको बजेट खर्च ३१ प्रतिशत 

धवलागिरिको बजेट खर्च ३१ प्रतिशत 

Trulli
ADVERTISEMENT

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाले चालू आर्थिक वर्ष २०७७÷७८ को करिब ९ महिने अवधिमा ३१ प्रतिशत बजेट खर्च गरेको छ ।

 

कुल ३९ करोड ६३ लाख २२ हजार ४९८ रुपैयाँ बजेट विनियोजन गरेको धवलागिरिले साउनदेखि चैत तेस्रो सातासम्म १२ करोड ४२ लाख ७६ हजार ९९६ रुपैयाँ खर्च गरेको हो ।

 

पँुजीगततर्फ २५.९४ र चालूतर्फ ३४.३६ प्रतिशत बजेट खर्च भएको लेखा अधिकृत कृष्णप्रसाद खरालले बताए । उनका अनुसार पँुजीगततर्फ १४ करोड २३ लाख ३४ हजार ४९८ रुपैयाँ बजेट विनियोजन भएकामा ३ करोड ६९ लाख लाख १८ हजार ८१४ रुपैयाँ खर्च भएको छ । 

 

चालूतर्फ २५ करोड ३९ लाख ९४ हजार रुपैयाँ विनियोजन भएकामा ८ करोड ७३ लाख ५८ हजार १४१ रुपैयाँ खर्च भएको छ । 

 

धवलागिरिले १२६ वटा पूर्वाधारसम्बन्धी योजना सञ्चालन गरेको छ । हालसम्म ८७ वटा योजना सम्झौता भएको र ८ वटा योजना निर्माण सकेर अन्तिम किस्ता भुक्तानी गरिएको योजना शाखाका रमेश पौडेलले बताए । 


६ वटा योजना ठेक्कामार्फत कार्यान्वयन गरिएको छ । अन्य योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको हो । सडक निर्माण, विस्तार, स्तरोन्नति, पदमार्ग, खानेपानी, भवन, खेलमैदान, सिँचाइलगायत योजना सञ्चालन भएको छ । 


ताकममा ५ शय्याको अस्पताल, वडा कार्यालय भवन, हेम नमुना आवासीय माविको भवन, मुना स्वास्थ्य चौकीको भवन, लुलाङ वडा कार्यालय, लुलाङ खानेपानी आयोजना, खिवाङ–खाम्ला सडक ठेक्कामार्फत कार्यान्वयन भइरहेको छ । 


निर्माण सकिएका योजनाको उपाध्यक्ष रेशम छन्त्याल नेतृत्वको टोलीले अनुगमन सुरु गरेको छ । चैत तेस्रो सातादेखि निर्माण सकिएका योजनाका उपभोक्ता समितिका पदाधिकारी भुक्तानी लिन आउने क्रम बढेको छ ।

 

योजना कार्यान्वयनमा तीव्रतासँगै बजेट खर्चको दर बढाउन पहल गरिएको प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले जानकारी दिए ।