close

सडक निर्माणमा ढिलासुस्तीविरुद्ध मंगलाघाटबासी आन्दोलित 

सडक निर्माणमा ढिलासुस्तीविरुद्ध मंगलाघाटबासी आन्दोलित 

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दी सदरमुकाम बेनी बजारमा निर्माणाधीन मंगलाघाट-हाडेभीर-बगरफाँट सडक आयोजनालाई पूर्णता दिन माग गर्दै स्थानीय आन्दोलित भएका छन् । 

 

धुलो र हिलोले आजित भएका मंगलाघाटबासीले सडक निर्माण सुरु गराउन दबाबका लागि शुक्रबार जिल्ला प्रशासन कार्यालय घेराउ र चक्काजाम गरेका हुन् । 

 

मंगलाघाटदेखि हाडेभीर हुदै बगरफाँट जोड्ने १४ सय मिटर सडक कालोपत्रे गर्ने योजनालाई पूर्णता दिन माग गर्दै बेनी नगरपालिका वडा नम्बर ७ मंगलाघाटका बासिन्दाले बिहान १ घन्टा बेनी-दरवाङ सडकमा चक्काजाम र जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । 

 

निर्माण व्यवसायी र सम्बद्ध कार्यालयले प्रतिबद्धताअनुसार सडक कालोपत्रे गर्न बेवास्ता गरेपछि मंगलाघाटका ३ वटा टोल सुधार समिति, बौद्ध युवा क्लब र आमा समूहले संयुक्त आन्दोलन गरेको मंगलाघाट टोल सुधार समितिका अध्यक्ष खिमबहादुर छन्त्यालले बताए । 

 

सघन सहरी विकास डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको मंगलाघाटदेखि बेनी वडा नम्बर २ को हाडेभीर हुदै बगरफाँट जोड्ने सडक कालोपत्रेमा भएको ढिलासुस्तीले नागरिकलाई सास्ती, साँघुरो सडक छेउमा थुपारिएका निर्माण सामग्रीले आउजाउमा समस्या र दुर्घटनाको जोखिम बढाएको छ । 

 

मंगलाघाट मंगला, मालिका, धवलागिरि गाउँपालिका र हाडेभीर भकिम्ली, सिंगा र बरंजालाई सदरमुकाम बेनीसँग जोड्ने सडकको नाका हो । 

 

२ वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २२ माघ २०७५ मा देव एन्ड सायर-बिएन-त्रिशक्ति जेभीले ५ करोड रुपैयाँमा ठेक्का लिएको योजनाको म्याद २०७७ माघमा सकिए पनि निर्माण व्यवसायीले काम सुरु नगरेको वडा नम्बर ७ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । 

 

हालसम्म २ करोड रुपैयाँ भुक्तानी लगेका निर्माण व्यवसायीले करिब डेढ वर्षपछि यसै सातादेखि बगरफाँट क्षेत्रमा नाली निर्माण सुरु गरेका छन् । २०७५ साउनमै मंगलाघाटको तल्लो बजार क्षेत्रमा करिब २ सय मिटर सडक ढलान गरेका निर्माण व्यवसायीले वैशाखभित्र कालोपत्रे गरिसक्ने दव एन्ड सायर–बिएन–त्रिशक्ति जेभीका प्रतिनिधि नारायण जिसीले बताए । 

 

कोरोनाको जोखिम, लकडाउन, भेरिएसन अर्डरमा भएको ढिलाइ र पर्याप्त बजेट व्यवस्थापन नहुँदा आयोजनाको काम प्रभावित भएको उनको तर्क छ । जिसी निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष हुन् । 

 

चालू आर्थिक वर्षमा ८० लाख रुपैयाँ विनियोजन भएको छ । यसअघि गरेको कामको समेत भुक्तानी नभएको जिसीले बताए । गर्मी मौसममा आवश्यक पर्ने अक्सपाल्ट प्रविधिको कालोपत्रे गर्न नाली, सडक चक्लाउने, पर्खाल लगाइसकेर केही भागमा बेस र सबबेस राखेका छन् ।

 

कोरोनाका कारण फागुनदेखि ६ महिना म्याद थप गर्ने प्रक्रिया अघि बढाएको कार्यालयले जनाएको छ ।