ताप्लेजुङ- कोभिड-१९ सञ्चालन व्यवस्थापन केन्द्र (सीसीएमसी) ले देशभरका विद्यालयका पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेका बेला ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले भने १७ वैशाखबाट नगर क्षेत्रका सबै विद्यालयमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
फुङ्लिङ नगर कार्यपालिकाले सूचना जारी गरी नगर क्षेत्रभित्रका सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयबाट २०७७ को शैक्षिक सत्र अन्त्यमा हुने परीक्षा १७ वैशाखको बिहान साढे १० बजेबाट हुने बताएको हो ।
नगरपालिकाले १३ बाट १६ वैशाखसम्म अध्ययन बिदा दिने र १७ वैशाखबाट कक्षा १ देखि ९ सम्मको परीक्षा सञ्चाालन गर्ने निर्णय लिएको फुङ्लिङ नगरपालिकाका शिक्षा अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।
नगरपालिकाले स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्बन गरी परीक्षा सञ्चालन गर्नसमेत भनेको छ । सीसीएमसीको आइतबारको बैठकले भने भौतिक रूपमा उपस्थित भई सञ्चालन हुने पूर्वनिर्धारित सबै परीक्षा अर्को निर्णय नहुन्जेलसम्म स्थगित गर्ने निर्णय गरेको थियो ।
सीसीएमसीले भौतिक रूपमा उपस्थित नभई भर्चुअल र वैकल्पिक माध्यमबाट भइरहेको पठपाठन भने जारी राख्ने निर्णय गरेको सीसीएमसी सचिवालयका संयोजक डा. खगराज बरालले सूचना प्रेषित गरेका थिए ।
सीसीएमसीको निर्णयविपरीत फुङ्लिङ नगरपालिकाले भौतिक रूपमा उपस्थित भई हुने वार्षिक परीक्षा १७ वैशाखबाट सञ्चालन गर्ने निर्णय लिएको छ ।