close

स्वास्थ्यकर्मीमै कोरोना देखिएपछि पर्वत अस्पतालमा स्वास्थ्य सेवा अवरुद्ध

स्वास्थ्यकर्मीमै कोरोना देखिएपछि पर्वत अस्पतालमा स्वास्थ्य सेवा अवरुद्ध

Trulli
ADVERTISEMENT

पर्वत- कोरोना संक्रमण बढेपछि पर्वत अस्पतालका आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । आइतबार पर्वत अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सोमबारदेखि सेवा बन्द गरिएको हो ।

 

९ जनाको परीक्षण गरिएकामा ६ जनामा संक्रमण पुष्टि भएपछि आकस्मिक र प्रसूतिबाहेक अन्य सबै सेवा बन्द गरिएको अस्पतालका प्रमुख ढुण्डिराज पौडेलले जानकारी दिए । थप संक्रमण नफैलियोस् भनेर अन्य उपचार सेवा बन्द गरिएको उनले बताए ।

 

ओपिडी, दन्त, एक्सरे, ल्याबलगायत सबै सेवा तत्कालका लागि बन्द गरिएको पौडेलको भनाइ छ । पर्वत अस्पतालमा आइतबार बिहान १ जना संक्रमितको मृत्यु भएको थियो । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १ पाङका ७९ वर्षीय वृद्धको संक्रमणका कारण ज्यान गएको हो । 

 

त्यसपछि गरिएको परीक्षणमा स्वास्थ्यकर्मी र कर्मचारीमा समेत संक्रमण देखिएपछि सुरक्षा सावधानी अपनाउन सेवा बन्द गर्नुपरेको अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए । उनले नागरिकलाई सकेसम्म घरमै बस्न र अस्पताल आउनै परे सावधान अपनाउन आग्रह गरे ।

 

सदरमुकाम कुश्मा बजारमा पछिल्लो केही दिनयता संक्रमण ह्वात्तै बढेको छ । दैनिकजसो संक्रमितको संख्या बढ्न थालेपछि कुश्मा नगरपालिकाको कार्यालय र नगरभित्रका सवै विद्यालय १ साताका लागि बन्द गरिएका छन् भने बजारसमेत सुनसान बनेको छ । 

 

जिल्लामा संक्रमितको संख्या बढ्दै जाँदा जटिल रोगीको उपचारको तयारीबारे प्रतिनिधिसभाका सांसद पदम गिरीले पर्वत अस्पतालको निरीक्षण गरेका छन् । 

 

प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, अस्पतालका प्रमुख डाक्टर तथा व्यवस्थापन समितिसहितको निरीक्षणपछि सांसद गिरीले स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरे । सहयोगका लागि प्रदेश, संघ सरकारमा पहल गर्ने प्रतिबद्धता उनले जनाए ।