close

उदयपुरमा ६ महिनापछि कोरोना अस्पताल पुनः सञ्चालन

उदयपुरमा ६ महिनापछि कोरोना अस्पताल पुनः सञ्चालन

Trulli
ADVERTISEMENT

उदयपुर- ६ महिनापछि उदयपुर कोभिड-१९ अस्पताल ६ महिनापछि सञ्चालनमा आएको छ । गत वर्ष कोभिड-१९ को संक्रमण उच्च भएका बेला निर्माण भए पनि संक्रमित सकिएसँगै बन्द भएको उदयपुर कोभिड-१९ अस्पताल ६ महिनापछि पुनः सुरु भएको हो ।

 

उदयपुरका सबै स्थानीय तह मिलेर निर्माण गरिएको कोभिड महामारीको संक्रमण पुनः फैलिन थालेपछि उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ सातधारेमा निर्मित कोभिड अस्पताल पुनः सुरु गरिएको हो ।

 

अहिले अस्पतालमा १ जना पुरुष संक्रमितको उपचार भइरहेको छ । भारतबाट फर्केका पुरुषमा संक्रमण देखिएपछि अस्पताल सुरु गरी उपचार थालिएको चौदण्डीगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख तेजबहादुर पोखरेलले बताए । 

 

उनका अनुसार अहिले हाल उक्त अस्पतालमा १ जना संक्रमितको उपचार भइरहेको छ भने अन्य संक्रमित आउने सम्भावना भएकाले अस्पतालमा बेड र स्वास्थ्यकर्मी तयारी अवस्थामा राखिएको छ । भारतको बिहारबाट आएका त्रियुगा नगरपालिका वडा नम्बर १२ का संक्रमित पुरुषलाई भर्ना गरेर उपचार सुरु गरिएको हो । 

 

८ वैशाखमा नेपाल आएका उनको कोभिड-१९ अस्पताल विराटनगरमा स्वाब परीक्षण गर्दा संक्रमण देखिएपछि अस्पताल भर्ना गरेर उपचार थालिएको पोखरेलले जानकारी दिए । उनका अनुसार हाल उनको स्वास्थ्यस्थिति सुधारोन्मुख छ ।


 
गत वर्ष कोभिड संक्रमितको संख्या उच्च भएपछि जिल्लाका ८ वटै स्थानीय तह मिलेर सातधारेमा आइसोलेसन सेन्टर सञ्चालन गरेका थिए । संक्रमितको संख्या दिनदिनै बढ्दै गएपछि केही महिनापछि सोही परिसरमा कोभिड-१९ अस्पताल निर्माण गरिएको हो ।

 

जिल्लाका स्थानीय तह मिलेर बनेको ‘उदयपुर विकास बोर्ड’ को पहलमा सातधारेमै कोभिड-१९ अस्पताल बनाउन ४ वटा नगरपालिकाले १५-१५ र ४ गाउँपालिकाले १०-१० लाख गरी १ करोड रुपैयाँको कोष खडा गरेका थिए । 

 

ट्रस प्रविधिको छानोसहितको १ तले पक्की अस्पताल भवन निर्माणमा अपुग स्रोतको खोजी गर्दा स्वीस सरकारले १ करोड ५० लाख रुपैयाँ र बाँकी अन्य स्रोत जुटाएर भवन बनाइएको हो । कम्पाउन्ड घेराबारसहितको अपांग तथा बालमैत्री भवनमा ९ वटा कोठा छन् भने पुरुष महिला र अपांगतामैत्री शौचालय, खानेपानी र विद्युत् व्यवस्था गरिएको छ । 

 

अस्पतालका ८ कोठामा ४० शय्या राखिएको छ भने एउटा कोठा डाक्टर र स्टाफ कार्यकक्ष बनाइएको छ । 

 

अस्पतालमा तत्कालका लागि ४० जनालाई एकैचोटि उपचार गराउन सक्ने व्यवस्था मिलाइएको छ । १ जना एमबिबिएस डाक्टर चन्दनकुमार साह र ५ जना स्टाफ नर्सलाई तयारी हालतमा राखिएको छ भने अपुग जनशक्ति व्यवस्था गर्न नगर अस्पताल र विभिन्न वडाका स्वास्थ्य चौकीका अनमी तथा अहेबलाई पालैपालो खटाउने गरिएको छ ।

 

स्वास्थ्य प्रमुख पोखरेलका अनुसार नगरपालिकामा १ नगर अस्पताल, ५ स्वास्थ्य चौकी तथा ४ वटा आधारभुत स्वास्थ्य केन्द्र गरी ११ स्वास्थ्य संस्था छन् । 


अस्तापल व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका नगरप्रमुख खगेन्द्र राईले जनशक्ति अभाव हुन नदिन प्रत्येक स्वास्थ्य चौकीका एचए, अहेब तथा अनमीलाई १५ दिन कोभिड-१९ अस्पतालमा खटाइँदै आएको जानकारी दिए । बजेट अभावले जनशक्ति व्यवस्थापन गर्न नसक्दा यस्तो समस्या आएकाले आवश्यक जनशक्ति भर्ना गरेर परिचालन गर्न प्रदेश र संघसँग अनुरोध गरिएको उनको भनाइ छ ।

 

बजेट अभावकै कारण कोभिड अस्पतालका कर्मचारीलाई हाल चौदण्डीगढी नगरपालिकाबाटै सेवा-सुविधा उपलब्ध गराउँदै आएको राईले बताए । 

 

उदयपुर विकास बोर्डका अध्यक्ष तथा त्रियुगा नगरप्रमुख बलदेव चौधरीले नेपालमा पहिलो कोरोना महामारीको केन्द्र बनेको उदययपुरबासीका लागि उपचार गर्न कोभिड-१९ अस्पताल सुरु गरिएको जानकारी दिए । तर, जनशक्ति र अस्पताल सञ्चालन गर्न आवश्यक बजेट अभाव रहेकाले सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

 

भवन बनाउन सहयोग नगरे पनि आफैंले बनाएको अस्पताल सञ्चालन खर्चका लागि आवश्यक बजेट व्यवस्था गर्न प्रदेश र संघीय सकारसँग नगरप्रमुख चौधरीको आग्रह छ ।