close

व्यासका वडा-वडामै मेलमिलाप केन्द्र

व्यासका वडा-वडामै मेलमिलाप केन्द्र

Trulli
ADVERTISEMENT

तनहुँ- तनहुँको व्यास नगरपालिकाले प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना सुरु गरेको छ । सामान्य विवादका घटना वडामै मिलाउने उद्देश्यसहित नगरपालिकाले वडा-वडामै मेलमिलाप केन्द्र स्थापना सुरु गरेको हो ।

 

१४ वटा वडा रहेको नगरपालिकाका ५ वटा वडामा मेलमिलाप केन्द्र स्थापना भइसकेको नगर उपप्रमुख एवं न्यायिक समिति संयोजक मीरा जोशीले जानकारी दिइन् ।

 

उनका अनुसार वडा नम्बर १०, ११, १२, १३ र १४ वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । ‘सबै वडामा मेलमिलाप केन्द्र स्थापना गर्छौं । अहिले कोरोना जोखिमका कारण केही वडामा स्थापना गर्न ढिलाइ भएको छ’, जोशीले भनिन् ।

 

न्यायिक समितिमा मुद्दाको चाप घटाउने र सामान्य विवादका घटनालाई वडाबाटै निरुपण गर्ने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गर्न थालिएको जोशीले बताइन् । ‘सबै मुद्दा न्यायिक समितिमा पठाउँदा मुद्दाको चाप बढी हुने गर्छ । सामान्य विवादलाई वडामै छलफलबाट टुंग्याउन सकिन्छ’, जोशीले भनिन्, ‘कतिपय मुद्दा सीधै न्यायिक समितिमा आए पनि त्यसलाई मेलमिलाप केन्द्रमै पठाउने गरिएको छ ।’

 

नगरपालिकाले सबै वडाका ३/३ जनालाई मेलमिलाप तालिम दिइसकेको छ । तालीम लिएकाहरू नगरपालिकाको मेलमिलापकर्ताका रूपमा सूचीकृत भएका छन् ।

 

‘तालीम लिएका मेलमिलापकर्तालाई नै मेलमिलापका लागि खटाउँछौँ’, उनले भनिन् । जोशीका अनुसार मेलमिलाप केन्द्रमा समाधान हुन नसकेका मुद्दा मात्रै न्यायिक समितिमा पठाइन्छ ।

 

‘कतिपय मुद्दा न्यायिक समितिबाटै निरुपण गर्नुपर्ने हुन्छ । त्यस्ता मुद्दा मेलमिलाप केन्द्रबाट न्यायिक समितिमा आउँछन्’, उनले भनिन्, ‘बाँकी सबै मुद्दालाई मेलमिलाप केन्द्रबाट मिलाउँछौँ ।’

 

स्थानीय शासन ऐन, २०७४ बमोजिम नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन भएको छ । न्यायिक समितिमा दर्ता हुने केही मुद्दामा न्यायिक समितिले फैसला गर्ने र केही मुद्दा मेलमिलापबाट टुंगो लगाउनुपर्ने कानुनी प्रावधान छ ।

 

स्थानीय स्तरमा शान्ति, सौहार्द र मेलमिलाप कायम गरी स्थानीय विकास प्रक्रियालाई टेवा पुर्‍याउन, महिला, दलित, आदिवासी, जनजाति, मधेसी, मुसलमान, पिछडा वर्ग, सीमान्तकृत समुदायको सशक्तीकरण गरी सहभागितामूलक तरिकाबाट विवाद समाधान गर्न सहयोग गरी समाजमा न्याय, मानव अधिकार र नागरिक हितको संवर्द्धनमा मेलमिलाप केन्द्रले सहयोग पुग्ने विश्वास गरिएको छ ।