close

जनशक्ति अभावले ९ महिनादेखि गाईघाटमा जडान गरिएको भेन्टिलेटर प्रयाेगबिहीन

जनशक्ति अभावले ९ महिनादेखि गाईघाटमा जडान गरिएको भेन्टिलेटर प्रयाेगबिहीन

Trulli
ADVERTISEMENT

उदयपुर- जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको भेन्टिलेटर जनशक्ति अभावमा ९ महिनादेखि थन्किएको छ । पहिलो कोभिडकै बिरामीलाई लक्षित गरी प्रदेश सरकारको सहयोगमा गत भदौ पहिलो साता जिल्ला अस्पताल गाईघाटमा जडान गरिएका २ वटा भेन्टिलेटर बेड प्रयोग हुन नपाएपछि माकुराको जालो लागेको छ ।

 

दोस्रो कोभिड भेरिएन्टका संक्रमित भेन्टिलेटर अभावमा छटपटाइरहेका बेला जिल्ला अस्पताल गाईघाटमा भने झन्डै १ वर्षअघि जडान भएका भेन्टिलेटर थन्किएका छन् । गत ५ वैशाख २०७७ मा स्थानीय नुरी मस्जिदमा भारतीय जमातीसहित १६ जना संक्रमित फेला परेपछि उदयपुर नेपालकै ‘कोरोना इपिसेन्टर’ बन्न पुगेको थियो ।

 

यसको महिना दिनभित्रै ३२ संक्रमित भेटिएपछि देशभरकै प्रमुख संक्रमित बन्न पुगेपछि उदयपुरमा त्यसबेला नै कोभिड अस्पताल र भेन्टिलेटर राख्ने योजना अघि बढेको थियो । प्रदेशबाट प्राप्त १ करोड रुपैयाँबाट जडान गरिएका भेन्टिलेटर एनेथेसिया डाक्टर अभावमा सञ्चालनमा ल्याउन नसकिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट जीवनारायण मण्डल बताउँछन् ।

 

अस्पतालको नयाँ भवनको पहिलो तल्लामा जडान गरिएका अत्याधुनिक भेन्टिलेटर बेड अहिलेसम्म सञ्चालन गर्न जनशक्ति नपाइएको डा. मण्डलले सुनाए । भेन्टिलेटरमा जडान गरिएका बेड रिमोटबाट सञ्चालन हुने अत्याधुनिक प्रकृतिका छन् । कन्सलटेन्ट डाक्टर नपाइएपछि भएकै जनशक्तिलाई तालिम दिएर सञ्चालन गर्न खोजिए पनि सम्भव भएन । जनशक्ति अभावमा सेवा सुरु हुन नसकेको अस्पताल प्रशासन बताउँछ ।

 

१ करोड रुपैयाँ लगानीमा ९ महिनाअघि जडान गरिए पनि जनशक्ति अभावमा त्यत्तिकै थन्क्याएर राख्नुपरेको छ । गम्भीर खाले कोभिड संक्रमितको उपचारलाई लक्षित गरी स्थापित भेन्टिलेटर अहिले प्रयोगमा ल्याउन सकिने भए पनि जनशक्ति जुटाउनै नसकिएको डा.मण्डलले जानकारी दिए ।

 

‘अहिले कोभिड भेरिएन्ट बढेका बेला भेन्टिलेटर तत्काल सुरु गर्न डिसिसिएमसी र अस्पताल विकास समितिले पहल थालेका छन् । तर, जनशक्ति पाउने सम्भावना छैन’, प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले भने, ‘आवश्यक एनेथेस्सिया कन्सल्टेन्ट खोज्न डिसिसिएमसी बैठकमा कुरा उठेपछि त्यहीँबाटै प्रदेश सरकारलाई सम्पर्क गर्दा मान्छे नपाइने जवाफ आयो ।’

 

जिल्ला समन्वय समिति उदयपुरका प्रमुख तथा अस्पताल विकास समिति अध्यक्ष खड्गबहादुर परियार जनशक्ति जुटाउन नसकिएकाले भेन्टिलेटर चलाउन कठिनाइ भएको बताउँछन् । बढ्दो संक्रमणलाई लक्षित गरी भेन्टिलेटर सञ्चालन गर्ने प्रबन्ध मिलाउने प्रयास भने भइरहेको उनको भनाइ छ ।

 

‘सकेसम्म कन्सल्टेन्ट डाक्टरको खोजी गर्ने नपाइए अस्पतालकै स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिएर कामचलाउ सेवा दिन प्रदेश स्वास्थ्य निर्देशनालयसँग छलफल भइरहेको छ’, परियारले भने । अस्पतालका २ वटा भेन्टिलेटर सञ्चालनमा ल्याउन सके कोभिड कहरमा संक्रमितले जिल्लामै उपचार पाउन सक्थे । 

 

सामान्य कोभिड संक्रमितलाई आइसोलेसनमा उपचार गर्न भने ६ महिनाअघि नै उदयपुरका ८ वटै स्थानीय तहको प्रयास र लगानीमा चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ बेलटारमा उदयपुर कोभिड अस्प्ताल सञ्चालनमा आइसकेको छ । त्यहाँ हाल आधा दर्जन पुरुष संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ ।