close

नवलपुरकाे जिल्ला अस्पतालमै छैन पर्याप्त अक्सिजन सिलिन्डर

पालिकाहरूको तयारी कमजोर

नवलपुरकाे जिल्ला अस्पतालमै छैन पर्याप्त अक्सिजन सिलिन्डर

पालिकाहरूको तयारी कमजोर

Trulli
ADVERTISEMENT

नवलपरासी- पूर्वी नवलपरासीमा कोभिड- १९ को संक्रमित बढिरहँदा अस्पतालमा अक्सिजन सिलिन्डर भने अभाव देखिन थालेको छ । मध्यबिन्दु जिल्ला अस्पताल र पालिका स्तरका गरी ८ वटा अस्पतालमा आइसोलसन कक्ष तयार भए पनि सबैमा पर्याप्त अक्सिजन सिलिन्डर नभएको पाइएको छ ।

 

संक्रमितको बढ्दो दर र अस्पतालमा लैजानैपर्ने बिरामी पनि बढ्दो क्रममा रहेका बेला अहिले जिल्लाभरिका बिरामीलाई मध्यबिन्दु जिल्ला अस्पतालले मात्र थेग्नुपरेको छ । आइसियुमा राख्नुपर्ने बिरामी भने चितवन रिफर गर्नुपर्ने नवलपुरको बाध्यता रहेको छ ।

 

मध्यबिन्दु जिल्ला अस्पतालका डा. वीरबहादुर थापाका अनुसार अस्पतालमा अहिले ६० वटा अक्सिजन सिलिन्डर रहेको छ, जुन अहिले यहाँ भर्ना भएका २० जना बिरामीलाई दिँदा ठिक्क भएको छ ।

 

डा.थापाले भने, ‘सिलिन्डर खाली हुनासाथ भर्न कहाँ खाली छ भनेर दौडधुप गर्नुपर्ने बाध्यता छ । तैपनि अस्पताल जति भरिभराउ भए पनि आएका बिरामीलाई जसरी पनि उपचार गरेका छौँ ।’

 

कोरोनाको दोस्रो लहर सुरु भएपछि नवलपुरमा पछिल्लो समय ११ जनाको निधन भएको छ । त्यसैगरी नवलपुरमा ८ सय २ जना संक्रमित भएका छन् भने अहिले ७ सय २४ जना सक्रिय संक्रमित छन् ।

 

पालिका स्तरका अस्पतालमा तयारी कमजोर


४ वटा गाउँपालिका र ४ वटा नगरपालिका रहेको नवलपुरमा कावासोतीबाहेक अन्य पालिकाहरूमा पालिका स्तरका प्रस्तावित अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा आइसोलेसन तयार भए पनि पर्याप्त अक्सिजन सिलिन्डर भने पाउन सकेका छैनन् ।

 

गैडाकोट नगरपालिकाको प्रस्तावित नगर अस्पताल पितौजीमा अहिले जम्मा १३ वटा अक्सिजन सिलिन्डर छन् । देवचुली नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा साना ५ वटा र ठूला ५ गरेर १० वटा मात्र सिलिन्डर रहेको देवचुलीका नगर उपप्रमुख पार्वता तिवारीले बताइन् । तिवारीका अनुसार देवचुलीले थप सिलिन्डर खरिदका लागि प्रक्रिया अगाडि बढाएको छ ।

 

त्यसैगरी कावासोतीले तत्कालै ५ वटा सिलिन्डर खरिद गरेर मध्यबिन्दु जिल्ला अस्पताललाई दिने तयारी गरेको छ । कावासोती नगरपालिकाभित्रै मध्यबिन्दु जिल्ला अस्पताल रहेकाले नगरपालिकाले अर्काे आइसोलसन निर्माणको तयारी गरेको छैन ।

 

कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीका अनुसार नगरले छुट्टै आइसोलेसन वा अस्पताल सञ्चालन गर्दा जनशक्तिदेखि विभिन्न भार थपिने भएकाले मध्यबिन्दु जिल्ला अस्पताललाई नै आवश्यक पर्ने सहयोग गरेर अगाडि जाने निर्णय गरेको हो ।

 

मध्यबिन्दु नगरपालिकामा ७ थान, बौदीकाली गाउँपालिकामा ५ थान, हुप्सेकोट गाउँपालिकामा ५ थान, विनयी त्रिवेणी गाउँपालिकामा ५ थान र बुलिङटार गाउँपालिकामा ५ थान अक्सिजन सिलिन्डर अहिले मौजुद रहेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताए ।


 अक्सिजन सिलिन्डर पाउनै गाह्रो

 

कावासोती नगरपालिकाले अक्सिजन सिलिन्डर खरिद प्रक्रिया अगाडि बढाएको १ साता भयो तर अझै ल्याउन सकेको छैन । कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बल्लबल्ल ५ थान सिलिन्डर खरिद गरिएको र छिट्टै आउने तयारीमा रहेको जानकारी दिए ।

 

त्यस्तै, विनयी त्रिवेणी गाउँपालिकाले पनि अक्सिजन सिलिन्डर खरिद प्रक्रिया अगाडि बढाए पनि पाउनै मुस्किल भएको पालिका अध्यक्ष डम्बरबहादुर जिसीले सुनाए । गाउँमा कुनै बेला ल्याइएका र अहिले खेर गएर बसेका अक्सिजन सिलिन्डर भए गाउँबाटै खरिद गर्ने निर्णय भएको जिसीले बताए ।

 

देवचुलीका नगर उपप्रमुख पार्वता तिवारीले नगरले थप सिलिन्डर खरिद प्रक्रिया अगाडि बढाए पनि पाउनै मुस्किल भएको जानकारी दिए ।


 
मध्यबिन्दु जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट, पाइप लाइन छैन 


 
पूर्वी नवलपरासीको जिल्ला अस्पताल मध्यबिन्दु जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माण भएको छ । तर, पाइप लाइन बिछ्याउने काम नहुँदा प्लान्ट सञ्चालनमा आउन सकेको छैन ।

 

प्रदेश सरकारको सहयोगमा अक्सिजन प्लान्ट निर्माण गरिएको हो । अहिले १९ लाख रुपैयाँ लगानीमा पाइप लाइन बिछ्याउन ठेक्का पनि लागेको छ । तर, ठेकेदार कम्पनीलाई भ्याई-नभ्याई भएकाले मध्यबिन्दु जिल्ला अस्पतालसम्म आइपुग्न भ्याएको छैन ।

 

मध्यबिन्दु जिल्ला अस्पतालका डा. वीरबहादुर थापाले भने, ‘पाइप लाइन बिछ्याउन ठेक्का लागिसकेको छ तर कम्पनी सम्झौता गर्न आइपुगेको छैन । सम्झौता गर्ने अवधि अझै १ साता बाँकी छ ।’

 

थापाका अनुसार उक्त टोलीले अहिले काठमाडौं हुँदै पोखरा क्षेत्रमा काम गरिरहेको छ । पोखराको काम सकेपछि आउने जानकारी दिएको उनले बताए । 


सम्झौता गरेर काम सुरु गरेको १५ दिनमा प्लान्टको बाँकी काम पूरा हुनेछ । प्लान्ट तयार भएपछि त्यहाँ हुने ४४ वटा पोर्टबाट कम्तीमा ४४ बेडमा ४४ जनालाई अक्सिजन पुर्‍याउन सकिनेछ ।

 

जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट भए पनि पाइप लाइन बिछ्याउने काम पूरा नहुँदा प्लान्ट सञ्चालनमा आउन सकेको छैन ।