close

चौदण्डीगढीको वीरेन्द्र बजारमा आगलागी: ५ वटा घर जलेर खरानी

चौदण्डीगढीको वीरेन्द्र बजारमा आगलागी: ५ वटा घर जलेर खरानी

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ वीरेन्द्र बजारमा आगलागी हुँदा ५ वटा घर पूर्ण रूपमा जलेर खरानी भएको छ । आइतबार बिहान ४ः१५ बजे विद्युत् सट भई अचानक आगलागी भएको हो ।

 

आगलागीबाट स्थानीय भरत राई, शिशिरकुमार राई, बादलविक्रम राई, पदमकुमारी मगर, कृष्ण मगर, मुना राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहालले बताए । 

 

आगलागीबाट चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ का केशव बलयकोटीको स८ प २७२५ नम्बरको मोटरसाइकल, को२त ८२३० नम्बरको ट्रयाक्टर र वडा नम्बर ७ बेल्टारका लालबहादुर राईको बा१३प ८४८० नम्बरको पार्किङ गरिराखिएको मोटरसाइकल जलेका छन् । 

 

महाभारतको काखमा रहेको वीरेन्द्र बजारमा काठै काठले बनेका घर छन् । आगो बजारका अन्य घरमा फैलिन नदिन स्थानीय, दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरीको प्रयासमा अढाई घन्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

आगलागीबाट १ करोड २० लाख रुपैयाँको प्रारम्भिक क्षति भएको अनुमान जिल्ला प्रहरी कार्यालय उदयपुरले गरेको छ । आगलागीबाट घरभित्रका अन्नपात, भाँडावर्तन र लत्ताकपडासमेत जलेर नष्ट भएको छ ।