close

अन्नपूर्णले बनायो २५ शय्याको आइसोलेसन 

अन्नपूर्णले बनायो २५ शय्याको आइसोलेसन 

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कोरोना संक्रमितको सुरक्षित रूपमा उपचार गर्न नारच्याङस्थित नेपाली सेनाले प्रयोग गरेको भवनमा २५ शय्याको आइसोलेसन कक्ष पुनः सञ्चालन गरेको छ । 

 

गत पुसमा स्थापना भएको कोरोना अस्पताल कोरोनाका बिरामी भेटिन छाडेका, नियुक्त गरिएका चिकित्सक र स्वास्थ्यकर्मीको करार अवधि सकिएपछि फागुनमा बन्द भएको थियो ।

 

मिस्ट्री र घलेम्दीखोला जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक पर्ने विस्फोटक पदार्थको भण्डारण र सुरक्षाका लागि नेपाली सेनाको क्याम्प राख्न जलविद्युत् आयोजनाले भवन बनाएका थिए । आयोजना निर्माण सकिएपछि ती भवन प्रयोगविहीन थिए । 

 

सेनाको क्याम्प सरेपछि खाली भएका भवन मर्मत, रंगरोगन, खानेपानी, विद्युत् जडान गरेर आइसोलेसन सञ्चालन गरिएको हो । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले कोरोना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गर्न थालिएको बताए ।
 

‘तत्काल मौजुदा स्वास्थ्यकर्मीलाई परिचालन गरेर अस्पताल सुरु गरिसकेका छौँ’, उनले भने, ‘गाउँपालिकाले तलबको व्यवस्थापन गर्ने गरेर चिकित्सक ल्याउँदै छौँ । थप स्वास्थ्यकर्मी भर्ना प्रक्रियामा छ । संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई तलबको ५० प्रतिशत अतिरिक्त सुविधाको व्यवस्था मिलाएका छौँ ।’ 

 

कामको चाप बढेपछि गाउँपालिकाले सञ्चालन गरेको प्रयोगशालाका कर्मचारीको तलब बढाइएको छ । अन्नपूर्णको कोरोना अस्पतालमा १५ सिलिन्डर अक्सिजन व्यवस्था गरिएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवालले ६ जना स्वास्थ्यकर्मीको ३ वटा समूह बनाएर २४ सै घन्टा सेवा दिइएको बताए । १ जना सहयोगी पनि खटिएका छन् । 

 

‘बेनी अस्पतालका चिकित्सकको सम्पर्कमा रहेर २ जनालाई अक्सिजन लगाएर र १ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ’, उनले भने, ‘अन्नपूर्णमा करिब ३० जना सक्रिय संक्रमित छन् । ७ जनाले कोरोना जितेका छन् ।’

 

केही दिनअघि कोरोना संक्रमण निको भएका सिनियर अहेब विक्रम पुनको नेतृत्वमा आइसोलेसन र कोरोना अस्पताल सञ्चालन भएको छ । 

 

व्यवस्थापकीय र समन्वयको जिम्मेवारी स्वास्थ्य शाखा संयोजक बरुवाललाई दिइएको छ । हालै कोरोना संक्रमणमुक्त भएकी प्रयोगशालाकी प्राविधिक मेनुका ज्वारचन पनि स्वाब संकलन, एन्टिजेन परीक्षणका साथै संक्रमितको उपचारमा खटिएका छन् । गाउँपालिकाको स्वास्थ्य संस्थामा काम गर्ने अर्का १ जना सहयोगी कर्मचारी अझै संक्रमित छन् ।


 
ग्रामीण क्षेत्रका प्रायः कच्ची घरको संरचना परिवारका सदस्यसँग दूरी कायम गर्न मिल्ने र अलग्गै शौचालय हुँदैनन् । संक्रमितलाई व्यवस्थापन गर्न नसक्दा कोरोना थप फैलने जोखिम हुने भएकाले आइसोलेसनमा राखेर उपचार गर्दा सुरक्षित र व्यवस्थित हुने अध्यक्ष पुनले बताए ।


 
वडा नम्बर ४ गाडपारमा शुक्रबार एकै परिवारका ५ जनामा संक्रमण पुष्टि भएको छ । एउटै परिवारका सबै सदस्य कोरोना संक्रमित भएका हुन् । चैत तेस्रो साता अन्नपूर्ण वडा नम्बर ४ नारच्याङमा जलविद्युत् आयोजनाका ११ जना कर्मचारी र समुदायका ४ जनामा कोरोना संक्रमण भएको थियो, जुन दोस्रो लहरको सुरु अवस्था थियो ।

 

यसै साता वडा नम्बर २ ठूलोबगरका १ जना वृद्धको कोरोना संक्रमणका कारण उपचारका क्रममा बेनी अस्पतालमा ज्यान गएको थियो । 

 

८ वटै वडाका स्वास्थ्य चौकीमा पनि १/१ वटा अक्सिजन सिलिन्डरको व्यवस्था गरिएको छ । गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूले अक्सिजन सिलिन्डर उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । संक्रमितको उपचारका लागि आवश्यक औषधी निःशुल्क उपलब्ध गराइने अध्यक्ष पुनले बताए । 


कोरोना अस्पतालमै स्वास्थ्यकर्मी र संक्रमितको खाजा, खानाका लागि क्यान्टिन चलाइएको छ । प्रतिव्यक्ति प्रतिदिन ५०० रुपैयाँका दरले खाना खुवाउने व्यवस्था मिलाइएको छ । विपन्नलाई वडा समितिको सिफारिसमा आइसोलेसनमा बस्दाको खानाको शुल्क पालिकाले तिरिदिने अध्यक्ष पुनले बताए ।

 

कोरोना संक्रमितलाई स्वास्थ्य संस्था, अस्पताल पुर्‍याउन एउटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको प्रमुख प्रशासकीय अधिकृत सुरण शर्मा पौडेलले जानकारी दिए । अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत चढ्दै आएको पालिकाको गाडीलाई स्वास्थ्यकर्मी आउजाउमा प्रयोग गरिएको छ । 

 

उपाध्यक्ष र अनुगमन समितिको टोलीका लागि भाडामा लिइएको गाडीलाई पनि औषधी, स्वास्थ्य सामग्री ढुवानी र आवश्यक परेको अवस्थामा बिरामी बोक्न तयार पारिएको छ । कोरोना संक्रमित बोक्नुपर्ने र थप समय काममा लगाइने भएकाले गाडीको मासिक भाडा सम्झौता बढाइएको छ । 

 

कोरोनाको अवस्था पहिचानका लागि वडा नम्बर ७ र ८ बाहेकका ठाउँमा पुगेर स्वास्थ्यकर्मीले लक्षण देखिएका र शंकास्पद बिरामीको २८० पिसिआर नमुना संकलन गरेर परीक्षणका लागि पठाएका छन् । ३५ वटा एन्टिजेन परीक्षण भएको छ । हिस्तान र राम्चेमा पनि स्वाबको नमुना संकलन गर्न स्वास्थ्यकर्मी टोली जाने तयारीमा छ ।


 
वडाध्यक्षलगायत जनप्रतिनिधिले टोल विकास समिति, आमा समूह, युवा क्लब परिचालन गरेर कोरोना नियन्त्रणमा सन्देशमूलक कार्यक्रम सञ्चालन गरेका छन् । 

 

कोरोना रोकथामका लागि जिल्ला प्रशासन कार्यालय म्याग्दीले १० जेठसम्म निषेधाज्ञा जारी गरेको छ । अन्नपूर्ण गाउँपालिकाले पनि पर्यटकीय स्थल भ्रमण र तातोपानी कुण्ड स्नान बन्द गरेको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामार्फत उपलब्ध मजदुरलाई परिचालन गरेर जलविद्युत्, सडक, भवनलगायत विकास निर्माणलाई निरन्तरता दिइएको छ । 

 

गाउँपालिकाले सञ्चालन गरेका योजनाको भौतिकतर्फ करिब ६५ प्रतिशत प्रगति भए पनि भुक्तानी नभएकाले वित्तीय प्रगति कम देखिएको अध्यक्ष पुनको दाबी छ । निषेधाज्ञाका कारण रोजीरोटी गुमेर समस्यामा परेकाहरूका लागि भोकै बस्न नदिने गाउँपालिकाले जनाएको छ ।

 

निषेधाज्ञा र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर कोरोना महामारीको चेनब्रेक गर्न सघाउन गाउँपालिकाले नागरिकलाई अपिल गरेको छ ।