close

मल्लाजमा तयार भयाे १० शय्याको आइसोलेसन 

मल्लाजमा तयार भयाे १० शय्याको आइसोलेसन 

Trulli
ADVERTISEMENT

म्याग्दी- पर्वतको जलजला गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि वडा नम्बर ३ मल्लाजमा १० शय्या क्षमताको आइसोलेसन स्थापना गरेको छ ।

 

यसअघि वडा नम्बर ८ मा पर्ने नाग्लिवाङमा २० शय्या क्षमताको आइसोलेसन सञ्चालनमा ल्याएको जलजलाले शुक्रबारदेखि मल्लाजमा अर्को आइसोलेसन तयार पारेर संक्रमितको उपचार सुरु गरेको हो । 

 

वडा नम्बर ३ को कार्यालय रहेको गाउँपालिकाको भवनका खाली कोठालाई व्यवस्थापन गरेर आइसोलेसन बनाइएको छ । कोरोना संक्रमितको सहज, सुरक्षित र व्यवस्थित उपचारका लागि स्थापना गरिएको आइसोलेसनमा स्वास्थ्यकर्मी खटाइएको छ । अक्सिजन सिलिन्डरको पनि व्यवस्थापन गरिएको छ । 

 

मल्लाज जलजलाको कोरोना संक्रमणको हटस्पट बनेको छ । मल्लाज क्षेत्रमा पर्ने जलजला वडा नम्बर १ मा ४, २ मा १५, ३ मा ५१, ४ मा ९ र ५ मा २ जना सक्रिय संक्रमित छन् ।  हालसम्म १६७ जना संक्रमित भएको जलजलामा ६७ जना निको, ५ जनाको मृत्यु र ९८ जना सक्रिय संक्रमित छन् । 

 

पछिल्लो २४ घन्टामा १३ जना संक्रमित थपिएका, २ जना निको भएका, १ जनाको मृत्यु र ३ जना आइसोलेसनमा छन् । हालसम्म १ हजार १०२ वटा नमुना संकलन गरिएकामा १६५ वटाको नतिजा आउन बाँकी छ । आइसोलेसनमा उपचार गरेका शनिबार २ जना डिस्चार्ज हुँदा २ जना नयाँ संक्रमितलाई आइसोलेसनमा ल्याइएको छ ।

 

वडा र बस्ती स्तरमा सचेतनामूलक कार्यक्रमसँगै शंकास्पद र लक्षण देखिएकाहरूको स्वाबको नमुना संकलन कार्यलाई तीव्रता दिइएको छ । यसैगरी कोरोना रोकथामका लागि जलजला गाउँपालिकाले विपद् व्यवस्थापन कोषमा सहयोगको अपिल गरेको छ । 

 

गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले व्यक्तिगत रूपमा १ लाख रुपैयाँ कोषमा सहयोग गरेका छन् । अध्यक्ष मल्लले प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मालाई बिहीबार नगद हस्तान्तरण गरे । उनले आफ्नो उद्योगमा भएका ५ थान अक्सिजन सिलिन्डर पनि गाउँपालिकालाई उपलब्ध गराएका छन् । 

 

सो कोषमा जलजला वडा नम्बर २ गैराटोलस्थित समाज कल्याण आधारभूत विद्यालयका शिक्षकले २ दिनको तलब बराबर ११ हजार ५ सय रुपैयाँ उपलब्ध गराएका छन् ।

 

गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजकसमेत रहेका वडा नम्बर २ का अध्यक्ष गोविन्द खत्रीलाई विद्यालयका प्रअ डम्मरबहादुर जिसीले शुक्रबार रकम हस्तान्तरण गरेका थिए ।