close

निषेधाज्ञा छ तर, सडकमै चल्छ भोज

मान्ने कसले ?

निषेधाज्ञा छ तर, सडकमै चल्छ भोज

मान्ने कसले ?

Trulli
ADVERTISEMENT

सर्लाही- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड­१९ को सङ्क्रमण दर दिन प्रतिदिन बढ्न थालेपछि सरकारले निषेधाज्ञाको घोषणा गरेको छ । यता नागरिक भने त्यसको अवज्ञा गर्दै आफ्नो दैनिकीलाई पहिला झैँ सहज ठानी रहँदा जोखिम झन् बढ्दै गएको छ । 


सङ्क्रमण बढ्दै गएपछि सर्लाही प्रशासनले जिल्लामा १० दिनदेखि निषेधाज्ञा गरेको छ । स्थानीयवासी भने निषेधाज्ञा उल्लङ्घन गर्दै बिहे, व्रतबन्ध र भोजभतेरमा सहभागी भइरहेका छन् ।

 

सर्लाहीमा यस्ता सामाजिक कार्यमा मानिसको भीड नियन्त्रण भन्दा बाहिर छ । सरोकारवाला निकायले भने यसतर्फ कुनै चासो राखेको देखिँदैन ।

 
कविलासी नगरपालिका-२ पिपरियामा हालै सडकमै बिहे भोजको आयोजना गरियो । सयौंको सङ्ख्यामा स्थानीय उपस्थित भए, कसैमा पनि कोरोनाको डर देखिएन । 

 

यसरी सडकमै भोज गर्ने र भोज चलिरहेकै समयमा अतिआवश्यकीय सवारी साधनहरु सञ्चालनमा समेत समस्या सिर्जना हुने गरेको एम्बुलेन्स चालकहरुको गुनासो छ । 

 

गाउँका पसल र हाट बजारमा भीडभाड उस्तै छ । प्रशासनले सामाजिक कार्य गर्नै परे १५ जनाभन्दा बढी उपस्थित नहुन निर्देशन दिएको छ तर, प्रशासनको निर्देशन मान्ने कस्ले ?

 

प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले निषेधाज्ञाको पालना गराउन कुनै कसर बाँकी नराखिएको दाबी गर्छन् तर, यसमा स्थानीय तह पनि उत्तिकै जिम्मेवार हुनुपर्ने तामाङको भनाइ छ ।