close

कोरोनालाई नियन्त्रणबाहिर जान नदिने रणनीति बुन्दै म्याग्दीका पालिकाहरू

कोरोनालाई नियन्त्रणबाहिर जान नदिने रणनीति बुन्दै म्याग्दीका पालिकाहरू

Trulli
ADVERTISEMENT

म्याग्दी– विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना संक्रमणको नियन्त्रणका लागि स्थानीय तहहरूमा आशलाग्दा संकेत देखिन थालेका छन् । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोभिड–१९ संक्रमण तीव्र रूपमा फैलिइरहँदा म्याग्दीका स्थानीय तहको तयारी र सक्रियता प्रभावकारी देखिएको हो ।

 

गाउँ–गाउँमा कोरोना फैलिएपछि जिल्लाका सबै स्थानीय तहले समुदाय स्तरमै पुगेर स्वाब संकलन गर्ने, कोरोनाका लक्षण देखिएकालाई तत्कालै एन्टिजेन परीक्षण गर्ने, घरदैलोमा अनुगमन तथा संक्रमितसँग भेटघाट गर्ने, औषधी वितरणका साथै सिकिस्त बिरामीलाई एम्बुलेन्समार्फत अस्पतालमा लैजाने गरेका छन् ।

 

कोरोनाको पहिलो लहरमा रोकथाम, नियन्त्रण र उपचारभन्दा बढी प्राथमिकता खाद्यान्न वितरणमा व्यस्त भएका जनप्रतिनिधिले दोस्रो लहरमा उपचार र रोकथाममै बढी ध्यान केन्द्रित गरेका छन् ।

 

बेनी नगरपालिकाले वडास्तरमै पुगेर स्वाब संकलन गरिरहेको छ भने बिरामीको उपचारमा नगरप्रमुख हरिकुमार श्रेष्ठले दिएका २ निजी सवारी साधन, भाडामा र नगरपालिकाको स्वामित्वको सवारी साधनसमेत प्रयोग गरेको छ । 

 

सदरमुकाम बेनीबजार रहेको वडा नम्बर ७ र ८ बाहेक सबै वडामै पुगेर स्वाब संकलनलाई नगरपालिकाले प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए । कोरोनाको सबैभन्दा बढी संक्रमित नगरपालिकाभित्रै भेटिएपछि यस पटक नगरका समुदाय स्तरमै विभिन्न माध्यमबाट पुगेको उनको भनाइ छ ।

 

होम आइसोलेसनमा बसेका संक्रमितलाई भेट्न वडा स्तरमा स्वास्थ्यकर्मीसहितको टोलीसमेत परिचालन गरिएको छ । नगरपालिकाले बेनी अस्पतालमा आइसोलेसन कक्ष बनाउन करिब ७ लाख रुपैयाँ सहयोग गरेकाले होम आइसोलेसनमा सिकिस्त संक्रमितलाई अस्पतालमा भर्ना गरी उपचारको व्यवस्था मिलाइएको छ ।

 

पश्चिम म्याग्दीको मंगला गाउँपालिकाले वडा स्तरमा स्वाब संकलन, नियमित अनुगमन तथा कोरोनाको लक्षण देखिएकालाई निःशुल्क एम्बुलेन्स सेवा, संक्रमितको अवस्था बुझ्न स्वास्थ्यकर्मीसहितको टोली घर–घरमा पुग्ने गरेको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाले जानकारी दिए ।

 

त्यसैगरी मालिका गाउँपालिकाले समेत संस्थागत आइसोलेसन, स्वाब संकलन तथा संक्रमणबाट समुदायलाई जोगाउन आवश्यक विभिन्न गतिविधि गरिरहेको छ । 

 

हरेक वडाका संक्रमतको अवस्था बुझ्न र जनस्वास्थ्य मापदण्ड पालनामा ध्यान दिइएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । ‘कोरोनाका लक्षण देखिएका बिरामीको उपचारका लागि समुदाय स्तरबाट सहयोग जुटेको छ भने जनप्रतिनिधिसमेत निरन्तर खटिएका छन्’, उनले भने ।

 

त्यस्तै, धवलागिरि गाउँपालिकाले संक्रमण फैलिएको बस्तीमा कोरोना परीक्षणको दायरालाई फराकिलो पारेको छ । सबैभन्दा जोखिम रहेको वडा नम्बर २ को लुलाङमा पटक–पटक कोरोना अस्थायी अस्पतालका चिकित्सकसहित जनप्रतिनिधिको टोली पुगेको छ ।  अन्य वडामा समेत लक्षण देखिनेबित्तिकै स्वाब संकलन र एन्टिजेन परीक्षण गरिरहेको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताइन् । 

 

रघुगंगा गाउँपालिकाले बस्तीमै पुगेर कोरोना परीक्षणसहित संक्रमितलाई होम आइसोलेसन र संस्थागत आइसोलेसनमा राखेर उपचार गरिरहेको छ । रघुगंगामा संक्रमितको शरीरमा आवश्यक अक्सिजन अभाव हुन नदिन गाउँपालिकाको आफ्नै र रघुगंगा जलविद्युत् आयोजनामार्फत व्यवस्थापन गरी ४० सिलिन्डर तयारी अवस्थामा राखेको छ । 

 

गाउँपालिकाभित्रका सबै वडामा पुगेर संक्रमितको अवस्था बुझ्ने र निःशुल्क औषधी वितरणलाई समेत जोड दिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । ‘हरेक संक्रमितसँग स्वास्थ्यकर्मीको नियमित सम्पर्क छ । समुदाय स्तरमै पुगेर धेरै काम भएका छन् । समुदायले संक्रमितलाई निःशुल्क भोजनको व्यवस्थापन मिलाएकाले धेरै सहज भएको छ’, सुवेदीले भने ।

 

अन्नपूर्ण गाउँपालिकाले अस्थायी कोरोना अस्पताललाई व्यवस्थित र प्रभावकारी बनाएको छ भने संक्रमितको पहिचान, उपचार तथा मृत्यु भए शव व्यवस्थापनलाई पालिकाले व्यवस्थित बनाएको छ । कोरोनाको अस्थायी अस्पतालमा उपचार हुन नसकेपछि चिकित्सकमार्फत बेनी अस्पतालमा समन्वय गर्ने तथा शंकास्पद बिरामीलाई तत्कालै स्वाब संकलन गरी घरमा अन्य सदस्यभन्दा अलग्गै बस्न स्वास्थ्यकर्मीको टोली जनप्रतिनिधिसँगै पुग्ने गरेको छ । 


कोरोनाको पहिलो लहरमा गत वर्ष राहतमा खर्च भए पनि यस वर्ष कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले समेत संक्रमण फैलिन नदिन र संक्रमितको उपचारमै केन्द्रित हुन स्थानीय तहलाई अनुरोध गरेको थियो ।

 

यो वर्ष स्थानीय तहको सक्रियताकै कारण पिसिआरका लागि स्वाब संकलन, संक्रमितलाई आइसोलेसन र अस्पतालमै पु¥याउने तथा कन्ट्याक्ट ट्रेसिङमा परेकालाई समेत होम आइसोलेसनमा राख्न टोलबासीसँग समन्वयकारी भूमिकाले सहज भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।
 
यस पटक स्थानीय तहको तयारी लोभलाग्दो रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रजिअ गणेशबहादुर अधिकारीले बताए । संक्रमितको ट्रेसिङ, परीक्षण र उपचारमा स्थानीय तहको सक्रियताबाट आफू उत्साहित रहेको उनको प्रतिक्रिया छ । ‘कतै कमी–कमजोरी भए तत्काल सुधारका लागि अनुरोध गर्ने गरेका छौँ । जनप्रतिनिधि कोभिड नियन्त्रणमै होमिनुभएको छ’, प्रजिअ अधिकारीले भने । 

विभिन्न जिल्लाबाट सदरमुकाम बेनी प्रवेश गर्नेलाई लक्षित गरी तयार गरिएको होल्डिङ सेन्टरबाट स्थानीय तहमा पुगेकालाई समेत निगरानीमा यस पटक धेरै चासो दिइएको छ । म्याग्दीका स्थानीय तहले स्वाब संकलनलाई तीव्रता दिएकाले समेत गण्डकी प्रदेशमा धेरै स्वाब संकलन हुने जिल्लाभित्रसमेत म्याग्दी पर्ने गरेको छ । म्याग्दीमा हालसम्म १४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाका कारण ३७ जनाले ज्यान गुमाएका छन् ।