close

चौदण्डीगढीले थप्यो एकै दिन २ नयाँ एम्बुलेन्स 

चौदण्डीगढीले थप्यो एकै दिन २ नयाँ एम्बुलेन्स 

Trulli
ADVERTISEMENT


उदयपुर- उदयपुरको चौदण्डीगढी नगरपालिकाले स्वास्थ्यमा सर्वसाधारणको पहुँच पुर्‍याउन नगरको हरेक स्वास्थ्य संस्थामा एम्बुलेन्स व्यवस्था गरेको छ ।  नगरपालिकाले नगरको १० वटै वडामा स्वास्थ्य संस्था सञ्चालनमा ल्याएसँगै त्यहाँ एम्बुलेन्स व्यवस्था गरेको हो ।

 

पछिल्लो समय ३ वटा एम्बुलेन्स एकै पटक खरिद गरी सबै स्वास्थ्य संस्थालाई एम्बुलेन्स उपलब्ध गराएको चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राईले बताए ।

 

जटिल प्रकारका बिरामीलाई तल्काल उपचार गर्न नसके ज्यान जान सक्ने भएकाले नगरपालिकाको आन्तरिक स्रोतबाट नयाँ एम्बुलेन्स खरिद गरी स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिएको हो ।

 

कोरोनाका कारण नागरिकलाई अस्पताल ल्याउन, लैजान सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स खरिद गरिएको नगरप्रमुख राईले जानकारी दिए । सामान्य अवस्थामा समेत बिरामीलाई समयमै अस्पताल पु¥याएर स्वास्थ्योपचार गराउन एम्बुलेन्सले सहयोग पुग्ने नगरपालिकाको विश्वास छ ।

 

एकै दिन चौदण्डीगढी नगरपालिकाले २ वटा नयाँ एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । चौदण्डीगढी नगरपालिकाले आइतबार सञ्चालनमा ल्याएको २ एम्बुलेन्समध्ये एउटा नगर अस्पताललाई र अर्को वडा नम्बर ९ स्थित हडिया स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ ।

 

हडिया स्वास्थ्य चौकीमा रहेको एम्बुलेन्सलाई वडा नम्बर १० को खैराहा झोडामा रहेको सहरी स्वास्थ्य केन्द्रलाई उपलब्ध गराउनेछ । नगर अस्पतालको एम्बुलेन्स वडा नम्बर ८ वीरेन्द्र बजारमा रहेको स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिने नगरपालिकाले जनाएको छ ।

 

चौदण्डीगढीको १० वडामध्ये १, ३, ४, ५, ८, ९, १० मा रहेका स्वास्थ्य संस्थामा १÷१ एम्बुलेन्सको व्यवस्था गरिएको छ । वडा नम्बर २, ६, ७ मा भने नगर अस्पतालको एम्बुलेन्सले सेवा दिनेछ ।


वडा नम्बर ६ सातधारेस्थित उदयपुर कोभिड अस्पतालमा समेत एम्बुलेन्सको व्यवस्था गरिएको छ । चौदण्डीगढी नगरपालिकामा ९ वटा एम्बुलेन्सले सेवा दिँदै आएको नगरका स्टोरका कर्मचारी नेत्रकुमार विकले जानकारी दिए । 

 

सरकारको भन्सार छुट र चौदण्डीगढी नगरपालिकाले खरिद गरेको एम्बुलेन्स सञ्चालनमा आएका हुन् । प्रतिएम्बुलेन्स १० लाख ४९ हजार ९ सय ६२ रुपैयाँ र स्वास्थ्य मन्त्रालयको मापदण्डअनुरूपको क्याबिन बनाउन प्रतिएम्बुलेन्स ५० हजार गरी २ एम्बुलेन्सको २१ लाख ९९ हजार ९ सय २४ रुपैयाँ खर्चे नगरपालिकाले बेहोरेको छ ।


नगरले २ एम्बुलेन्ससँगै अर्को एम्बुलेन्स पनि खरिद गरिसकेको छ । सो एम्बुलेन्स केही दिनपछि ल्याइने नगरप्रमुख राईले जानकारी दिए ।

 

एम्बुलेन्स सञ्चालनमा आएसँगै बाँकी रहेका २ र ६ नम्बर वडामा समेत एम्बुलेन्स सेवा उपलब्ध गराउने नगरपालिकाले बताएको छ । दुवै एम्बुलेन्स नगरपालिकाको चालू आर्थिक वर्षको बजेटबाट खरिद गरिएको हो ।