close

लप्चीबाट लामाबगर फर्किंदै गरेका २२ जनाको डोरीले तानेरै उद्दार

लप्चीबाट लामाबगर फर्किंदै गरेका २२ जनाको डोरीले तानेरै उद्दार

Trulli
ADVERTISEMENT

दोलखा– चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको दोलखाको बिगु गाउँपालिका वडा नम्बर १ लप्ची क्षेत्रबाट लामाबगर फर्किंदै गरेका २२ जना नागरिकलाई नेपाली सेना र प्रहरीको टोलीले उद्दार गरेको छ । टेलिफोन सम्पर्क विच्छेद भएका कारण १ दिन कष्टकर दिन बिताएको खबर पाउनासाथ सेना र प्रहरीको टोलीले उद्दार गरेको हो ।

 

बिगु गाउँपालिका उपाध्यक्ष सजीव ओलीको अगुवाइका आएको पालिकाको टोलीसहित डोरीको सहायताले उनीहरूको उद्दार गरिएको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक सुशील केसीले बताए । 

 

 माथिल्लो तामाकोसी जलविद्युत् आयोजना ड्याम साइटको माथिल्लो भागको छाँगोबाट आउन नसकेपछि डोरी लगाएर १२ पुरुष र १० जना महिलाको उद्दार गरिएको केसीले जानकारी दिए । 

 

अविरल वर्षा भएपछि घर फर्किएका यार्सा टिप्ने र केही माइक्रोहाइड्रोमा काम गर्ने नागरिकलाई उद्दार गरिएको जिल्ला प्रहरी कार्याल दोलखाले बताएको छ ।

 

वर्षाका कारण लामाबगरमा रहेको तामाकोसीको ड्याम साइटमा काठका मुढा भरिएपछि डुंगाबाट उनीहरूलाई लामाबगर तार्न नसकिएका कारण भीरबाटै डोरीको सहायताले उद्दार गरिएको हो । 

 

दोलखाको स्थानीय प्रशासन विपद्जन्य जोखिम व्यवस्थापन पूर्वतयारीमा जुटेको छ । स्थानीय प्रशासनले प्राकृतिक प्रकोप नियन्त्रणका लागि पूर्वतयारी सुरु गरेको हो ।

 

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले भने, ‘विपद् व्यवस्थापनलाई यहाँस्थिजत नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई विपद् निम्तिएको खबर पाउनासाथ तत्काल रेस्क्यु गर्न तयारी अवस्थामा राखेका छौँ । डिभिजन सडक कार्यालय चरीकोटमा रहेका डोजर, एक्जाभेटरलगायत सवारसाधन तयारी अवस्था छन् ।’

 

स्थानीय प्रशासनले मनसुन प्रतिकार्य योजना तयार गरेको छ । यसका लागि थप योजना बनाउन आउँदो आइतबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बस्ने प्रजिअ घिमिरेले जानकारी दिए । 

 

प्रजिअले स्थानीय तहलाई उद्दार, राहत, स्थानान्तरण र पुनर्निर्माणलाई प्राथमिकताका दिन आग्रह गरेका छन् । चरीकोटस्थित तारादल गणले विपद् व्यवस्थापनका लागि १०४ जना तालिमप्राप्त सैन्य जनशक्ति तयारी अवस्थामा राखेको छ ।

 

जिल्लामा रहेका गुल्म तथा सुरक्षा बेसक्याम्पमा समेत तालिमप्राप्त सेनासहित विपद् व्यवस्थापन सामग्री तयारी अवस्थामा राखेको गणपति अनिल केसीले जानकारी दिए । 

 

जिल्ला प्रशासन कार्यालय दोलखालाई विपद् व्यवस्थापनका लागि प्राप्त र ब्यारेकमा रहेका थप सामग्रीसमेत तयारी अवस्थामा रहेको गणपति केसीले बताए । उनले भने, ‘जिल्लाका कुनै स्थान विपद्मा परेको सूचना आए १५ मिनेटभित्र पुग्ने गरी तयारी अवस्थामा छौँ । गुल्म तथा सुरक्षा बेसक्याम्पबाट सैन्य शक्ति पठाउनुका साथै थपका लागि गण तथा हेडक्वार्टरमा माग गर्ने तयारी छ ।’

 

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार विपद् न्यूनीकरणका लागि पूर्वतयारी भइरहेको छ ।

 

उनले भने, ‘विपद् व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको कमान्डमा २५ जना तालिमप्राप्त प्रहरी टोली तयारीमा राखेका छौँ । जिल्लाका इलाका प्रहरी कार्यालयमा ७ जनाको विपद् व्यवस्थापन टोली तयारी अवस्थामा छ ।’ यस्तै, प्रहरीले स्थानीय तह, नेपाल रेडक्रस र नेपाल पत्रकार महासंघसँग पनि समन्वय गरिरहेको छ ।