close

मेलम्ची र हेलम्बुलाई मरिण गाउँपालिकाको सहयोग

मेलम्ची र हेलम्बुलाई मरिण गाउँपालिकाको सहयोग

Trulli
ADVERTISEMENT

सिन्धुली- सिन्धुलीको मरिण गाउँपालिकाले प्राकृतिक विपत्तिको सामना गरिरहेका सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग गरेको छ ।


मरिणका तर्फबाट मेलम्ची नगरपालिकालाई १ लाख ५० हजार र हेलम्बु गाउँपालिकालाई १ लाख ५० हजार रुपैयाँ राहतस्वरूप रकम प्रदान गरिएको अध्यक्ष पानीराज बम्जनले जानकारी दिए ।


यसअघि गाउँपालिकाले विपत्तिका बेला अन्य स्थानीय निकायले सहयोग गरेको उनले जानकारी दिए । गाउँपालिकाले हेलम्बुलाई प्रदेश सदस्य युवराज दुलालमार्फत १ लाख ५० हजार रुपैयाँको चेक पठाएको उनको भनाइ छ ।


मेलम्ची नगरप्रमुख डम्बरबहादुर अर्यालले विपद्का बेला गाउँपालिकाले दुःखको बेला सहयोग गरेकामा धन्यवाद दिए । प्राकृतिक विपत्तिको सामना गरिरहेको नगरपालिकाको एक्लो प्रयासले मात्र मेलम्ची ब्युँतिन नसक्ने हुँदा थप सहयोगका लागि उनले आग्रह गरे ।


यस्तै, उद्योग वाणिज्य संघ मरिण शाखाले पनि सिन्धुपाल्चोकका बाढीपहिरोपीडितका लागि आर्थिक सहयोग प्रदान गरेको छ । मेलम्ची नगरपालिकालाई ५१ हजार र हेलम्बु गाउँपालिकालाई ५१ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो । हास्य कलाकार दिनेश काफ्लेले मेलम्ची नगरपालिकालाई १३ हजार रुपैयाँ सहयोग गरेका छन् ।