close

आर्थिक वर्षको ‘क्लोजिङ’ ले बेफुर्सदिला भए उपभोक्ता समिति 

आर्थिक वर्षको ‘क्लोजिङ’ ले बेफुर्सदिला भए उपभोक्ता समिति 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङका स्थानीय तहमा चालू आर्थिक वर्षको ‘क्लोजिङ’ सुरु भएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा ७ दिनअगावै भुक्तानी दिएर निकासा र खर्च अद्यावधिक गरी भुक्तानी र निकासा बन्द गर्नुपर्ने व्यवस्थाअनुसार ‘क्लोजिङ’को सिजन सुरु भएको हो ।

 

आर्थिक वर्ष ‘क्लोजिङ’को समय सुरु भएसँगै असारे चटारो लागेको छ । विभिन्न उपभोक्ता समितिलाई अहिले आफ्नो योजना तथा कार्यक्रम सम्पन्न गर्ने हतारो भइरहेको छ । आर्थिक वर्ष ‘क्लोजिङ’का लागि खोटेहाङ गाउँपालिकाले विभिन्न योजना तथा कार्यक्रमको फरफारक तथा अन्तिम भुक्तानीका लागि आगामी २० असारभित्र आवश्यक कागजात पेस गर्न सूचना जारी गरेको छ ।

 

खर्च हुन नसकेको रकम २३ असारभित्र फिर्ता भौचरसहित कोष तथा लेखा नियन्त्रक कार्यालयमा पेस गर्नुपर्ने, भुक्तानी गरिएको कर कट्टी रकम कर कार्यालयमा दाखिला गर्नुपर्ने तथा आर्थिक वर्ष २०७७/७८ को आयव्यय हिसाब मिलान गरी नेपाल सरकार, प्राकृतिक स्रोत तथा वित्त आयोग र प्रदेश सरकारसमक्ष प्रतिवेदन पेस गर्न गाउँपालिकाले भनेको हो । 

 

तोकिएको समयसीमाभन्दा पछाडि पेस हुन आएका भुक्तानीका फायलउपर कुनै कारबाही नगरिने र भुक्तानी नभए कार्यालय नै जवाफदेही नहुने प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ । 

 

यस्तै, साकेला गाउँपालिकाले पनि योजना तथा कार्यक्रमको फरफारक तथा अन्तिम भुक्तानीका लागि २० असारभित्र आवश्यक कागजात पेस गर्न भनेको छ । निर्धारित समयमा पेस नभएका कागजातउपर कुनै कारबाही नहुने गाउँपालिका अध्यक्ष अर्जुन खड्काले २ असारमा जारी गरेको सूचनामा उल्लेख छ । 

 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख दीपनारायण रिजाल, प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहाल र लेख अधिकृत राजकुमार राईले शुक्रबार जारी गरेको सूचनामा योजना तथा कार्यक्रमको फरफारक तथा अन्तिम भुक्तानीका लागि आगामी २४ असारभित्र आवश्यक कागजात पेस गर्न आग्रह गरिएको छ ।