close

झापाको कचनकवलमा खुल्यो सर्पदंश उपचार केन्द्र

झापाको कचनकवलमा खुल्यो सर्पदंश उपचार केन्द्र

Trulli
ADVERTISEMENT

झापा- देशकै होचो भू-भाग झापाको कचनकवलमा बर्खायाममा सर्पको बिगबिगी हुने गर्छ । बर्सेनि दर्जनौँ स्थानीय सर्पको टोकाइबाट पीडित हुने गरेका छन् । स्थानीय तहको समन्वयमा उपचार केन्द्र स्थापना गरिएको हो । 

 

स्थानीय तहको निर्वाचनकै बेला नागरिकले माग गर्दै आएको सर्पदंश उपचार केन्द्र बल्ल स्थापना गरिएको हो । ‘हाम्रो सबैभन्दा ठूलो समस्या भनेकै सर्पदंश उपचार केन्द्र नहुनु हो’, स्थानीय रत्न बुढाथोकीले भने, ‘स्थानीय सरकारले पालिकाबासीको सपना पूरा गरिदिएको छ ।’  गाउँपालिका र स्वास्थ्य शाखाको लामो प्रयास र पहलपछि प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको हो । 

 

‘सर्पले टोकिहाले करिब ३५ किलोमिटर टाढा रहेको चारआली सर्पदंश उपचार केन्द्र जानुपर्ने बाध्यता थियो’, गाउँपालिका अध्यक्ष अञ्जरा आलमले भने, ‘अब उपचार अभावमा स्थानीयले सर्पको टोकाइबाट ज्यान गुमाउनुपर्दैन ।’ गाउँपालिकाको करिब २५ लाख रुपैयाँ लागतमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो ।

 

कार्यक्रममा निवर्तमान प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले विद्यार्थीकै दबाब कारण गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याउन सफल भएको जिकिर गरे । लिङ्देनले भने, ‘३ वटै तहका सरकारको प्रयास र पहलपछि गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याउन सफल भएका छौँ ।’ अस्पतालमा आइसियु र भेन्टिलेटरको सुविधा छिट्टै उपलब्ध गराउने प्रतिबद्धता उनले व्यक्त गरे ।

 

यो वर्ष मात्रै कचनकवलमा सर्पको डसाइबाट ३ जनाको ज्यान गइसकेको छ । सर्पले टोके जतिसक्दो छिटो अस्पताल पुर्‍याउनुको विकल्प छैन । तर, भनेको बेला सवारी साधन नपाउने र पाए पनि टाढा लैजानुपर्दा स्थानीयले हैरानी भोग्दै आएका थिए । अब कचनकवलबाहेक बाह्रदशी, भद्रपुर, हल्दिबारीलगायत छिमेकी भारतका नागरिकसमेतलाई सेवा लिन सहज हुनेछ ।

 

प्रदेशसभा सदस्य वसन्तकुमार बानियाँले गाउँबासीले लामो समयदेखि भोगिरहेको पीडादायी समस्याको अन्त्य भएको बताए । ‘बर्खा र गर्मीको समय स्थानीयले विषालु सर्पको डसाइबाट अकालमै ज्यान गुमाउँदै आएका थिए । अब यो समस्या अन्त्य भएको छ ।’ उपचार केन्द्रका लागि १० लाख रुपैयाँ सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

 

गाउँपालिकाले २ वटा आकस्मिक र ४ वटा नर्मल बेड राखेर सर्पदंश उपचार कक्ष तयार गरेको पालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए ।