close

ऐँसेलुखर्कले जडान गर्‍यो मिनी-अक्सिजन प्लान्ट

ऐँसेलुखर्कले जडान गर्‍यो मिनी-अक्सिजन प्लान्ट

Trulli
ADVERTISEMENT

खोटाङ- कोभिड-१९ महामारीलाई लक्षित गर्दै खोटाङको ऐसेलुखर्क गाउँपालिकाले मिनी-अक्सिजन प्लान्ट जडान गरेको छ । कोरोना संक्रमित बिरामीका लागि आवश्यक अक्सिजन अभाव हुन नदिन राष्ट्रिय आविष्कार केन्द्रको आर्थिक र प्राविधिक सहयोगमा वडा नम्बर ३ ऐँसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मिनी-अक्सिजन प्लान्ट जडान गरिएको हो । गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाको पहलमा प्राथमिक स्वास्थ्य केन्द्रमा एकैसाथ १३ वटा बेडका बिरामीलाई सीधै अक्सिजन दिन मिल्ने गरी मिनी-अक्सिजन प्लान्ट जडान गरिएको हो ।

 

मिनी-अक्सिजन प्लान्टबाट उत्पादन हुने अक्सिजन एकैसाथ आइसोलेसन सेन्टरका ६ बेडमा, सामान्य वार्डका ६ बेडमा र बर्थिङ सेन्टरका १ बेडका बिरामीलाई दिन मिल्ने गरी जडान गरिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए । करिब २० लाख रुपैयाँ बराबरको उपकरण प्रयोग गरेर तयार पारिएको मिनी-अक्सिजन प्लान्ट शुक्रबार राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिक टोलीले गाउँपालिका अध्यक्ष निरौला र उपाध्यक्ष पुष्पकला भुजेललाई हस्तान्तरण गरेको छ ।

 

मिनी–अक्सिजन प्लान्ट हस्तान्तरणसँगै उद्घाटन गरिएको छ । विभिन्न उपकरणको प्रयोगमा ७ वटा अक्सिमिटरबाट संकलन गरिएको अक्सिजन ट्यांकीमा पुर्‍याउने र ट्यांकीबाट पाइपमार्फत बेडमा पुर्‍याउने व्यवस्था मिलाइएको छ ।  खोटाङका १० स्थानीय तहमध्ये ऐँसेलुखर्क गाउँपालिकामा जिल्लामै पहिलो मिनी-अक्सिजन प्लान्ट जडान गरिएको हो । 

 

जिल्ला अस्पताल दिक्तेलमा अक्सिजन प्लान्ट जडानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बजेट विनियोजन गरिसकेको अवस्थामा ए‍ेँसेलुखर्क गाउँपालिकाले आफ्नै पहलमा मिनी-अक्सिजन प्लान्ट जडान गरेको हो । मिनी-अक्सिजन प्लान्ट जडानका लागि राष्ट्रिय आविष्कार केन्द्रबाट करिब २ गाडी सामग्री लिएर ७ जनाको टोली ऐँसेलुखर्क गाउँपालिका पुगेको थियो । टोलीले २ दिनमै मिनी-अक्सिजन प्लान्ट जडान सम्पन्न गरेको हो ।

 

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं वैज्ञानिक महावीर पुनलाई आग्रह गरेर मिनी-अक्सिजन प्लान्ट जडान गरिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए । गाउँपालिकामै मिनी-अक्सिजन प्लान्ट जडान भएसँगै महामारी थप जटिल बनेको अवस्था र संक्रमितलाई अक्सिजन आवश्यक परे अक्सिजन अभाव नहुने गाउँपालिकाको दाबी छ ।

 

‘अक्सिजनको साह्रै समस्या भयो भनेपछि मेरो आग्रहलाई पुनले स्वीकार गर्नुभयो । अब गाउँपालिकामा अक्सिजन अभाव हुने छैन । सिलिन्डर बोकेर कुदिरहनु पर्दैन । यतिले हामीलाई धान्न सक्छ,’ गाउँपालिका अध्यक्ष निरौलाले भने, ‘राष्ट्रिय आविष्कार केन्द्रले २० लाख रुपैयाँ उपकरण मात्रै पठाइदिएको छ ।’ यसबाट गाउँपालिकामा नियमित अक्सिजन आपूर्ति हुने अपेक्षा रहेको उनले सुनाए ।