close

वालिङले सार्वजनिक गर्‍यो नीति तथा कार्यक्रम: स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई प्राथमिकता

वालिङले सार्वजनिक गर्‍यो नीति तथा कार्यक्रम: स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई प्राथमिकता

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्मार्ट नगरको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ‘कृषि, उद्योग, व्यापार, पर्यटन, ऊर्जा, सूचना प्रणाली र पूर्वाधार-स्मार्ट सिटी वालिङ निर्माणका आधार’ नारासहित नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

 

आगामी आर्थिक वर्षका लागि बजेटका उद्देश्य तथा प्राथमिकतामा कोरोना रोकथाम, उपचारको प्रभावकारी व्यवस्थापन गरेर नगरबासीको जनजीवनलाई सुरक्षित बनाउने, स्थानीय स्तरमा उपलब्ध स्रोत-साधनको अधिक उपयोग तथा परिचालन गरी विकासको गतिलाई तीव्र बनाउने, आर्थिक, सामाजिक, भौतिक पूर्वाधार क्षेत्रको विकासमा जोड दिने, विकास, सुशासन र समृद्धि हासिल गर्न संघीय, प्रदेश सरकार र अन्तरपालिकासँगको सम्बन्ध बलियो बनाउने नीति तथा कार्यक्रमा उल्लेख छ । नगरपालिकाको नीति, कार्यक्रम तथा बजेटमा विशेषगरी स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई प्राथमिकता दिइएको छ ।

 

नगरप्रमुख दिलीपप्रताप खाँणले स्वास्थ्य, शिक्षा र पूर्वाधारलगायत सामाजिक तथा समावेशी विकासमार्फत समृद्ध नगर निर्माण गर्ने, अहिलेको विषम परिस्थितिमा कोभिड-१९ विरुद्ध लाग्न स्वास्थ्यलाई प्राथमिकतामा राखेर शिक्षा, कृषि, रोजगारी सँगसँगै अन्य क्षेत्रको विकास गरी आत्मनिर्भर नगरको दिशामा अग्रसर हुने, नागरिकलाई नगर सरकारको अनुभूति हुने गरी सुशासनको प्रत्याभूति दिन बजेट केन्द्रित रहने बताए ।

 

नगरपालिकाले पहिलो प्राथमिकतामा स्वास्थ्यलाई राखेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि अगाडि सारेको स्वास्थ्यसम्बन्धी नीतिमा सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने, स्वास्थ्य सेवालाई थप व्यवस्थित बनाउने, राष्ट्रिय मापदण्डबमोजिमका आधारभूत स्वास्थ्य सेवा नागरिकलाई निःशुल्क उपलब्ध गराउने नीति तथा कार्यक्रम समावेश गरेको छ । यस्तै, प्रत्येक वडामा चिकित्सकको व्यवस्थासहित नागरिकको स्वास्थ्य परीक्षण गर्ने, नगरभित्र विशेषज्ञ सेवासहितको ५० शय्याको अस्पताल निर्माण गरिने भएको छ ।

 

नगरबासीलाई स्वास्थ्य बिमामा समेट्ने, शिक्षण अस्पतालको पूर्वाधार निर्माणलाई अगाडि बढाउने, सबै वडा केन्द्र, स्वास्थ्य संस्थामा कम्तीमा १÷१ वटा एम्बुलेन्स व्यवस्था गर्ने, गह्रौँ प्राथमिक अस्पतालबाट मोबाइल हाइवे, टेलिसर्भिस, सर्भिस कार्ड लागू गर्ने, नगरभित्र पाठेघर क्यान्सरको पहिचान तथा मिर्गौला परीक्षणको दायरा फराकिलो बनाई समयमै रोग पहिचान गरी मृत्युदर कम गर्ने, बन्दाबन्दी तथा कोभिड-१९ का कारण रोजगारी गुमाएकालाई लक्षित गरी राहत उपलब्ध गराउने, बर्थिङ सेन्टरको विस्तार गर्नेलगायत नीति तथा कार्यक्रम अगाडि सारिएको छ ।

 

यस्तै, नगरभित्रका सबै विद्यालयमा एकै प्रकारको रङरोगन लगाउने, एकै प्रकारको स्थानीय पाठ्यक्रम लागू गर्ने, आवश्यकताअनुसार विद्यालय समायोजन गर्ने, प्रत्येक वडामा एउटा माध्यमिक विद्यालयलाई नमुना विद्यालय र इनोभेसन सेन्टर खोल्दै लैजाने, अंग्रेजी माध्यममा सञ्चालन गर्न प्रोत्साहन गर्ने, सामुदायिक विद्यालयको समग्र व्यवस्थापन सुधारका लागि बायोमेट्रिक हाजिरी व्यवस्था गर्ने, विद्यालयलाई बालमैत्री र फरक क्षमतामैत्री बनाइने भएको छ ।

 

नीति तथा कार्यक्रममा सबै माध्यमिक विद्यालय तहमा स्यानिटरी प्याडको प्रयोगलाई व्यवस्थित बनाउन अटोमेटिक स्यानिटरी प्याड मेसिन जडान गर्ने, स्मार्ट क्लब गठन गरी स्मार्ट सर्भिसबारे जानकारी गराउने, कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था मिलाउने, विद्यालयमा स्कुल नर्स कार्यक्रम सञ्चालन गर्ने, शिक्षकलाई तालिम दिने विषय समावेश छ ।

 

नगरका १४ वटै वडाका प्रत्येक एक गाउँलाई प्राविधिक तालिम उपलब्ध गराई एक गाउँ एक उत्पादन कार्यक्रम, एक घर एक रोजगारी सिर्जना गर्ने, एक घर एक टनेल कार्यक्रम, कृषिलाई व्यावसायिकीकरण गर्ने, हाइटेक नर्सरी तथा पोर्टेबल शीतभण्डार स्थापना, टनेल तथा सरल थोपा सिँचाइजस्ता प्रविधिको विस्तार गरिनेछ ।

 

त्यसैगरी उत्पादनमूलक कार्यक्रममा सबैको सहभागिता र साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने, नगरलाई पशुपक्षी र कृषिमा आत्मनिर्भर बनाइने, कृषिमा सहुलियतपूर्ण ब्याजदरको सुविधालाई नगरपालिका जमानत बसी ऋण उपलब्ध गराउने, उत्कृष्ट तथा नमूना किसानलाई अनुदान दिने, बिउ पुँजीलाई यो वर्ष पनि निरन्तरता दिइने भएको छ ।

 

पशु तथा कृषि बीमा सञ्चालन गरिने, स्थानीय बिउ संरक्षण र विकास गर्ने, उपयुक्त वडा छनोट गरी एक घर एक घार नीति अवलम्बन गर्ने, व्यवस्थित वधशाला निर्माण गर्ने, फलफूल तथा तरकारी प्रशोधन केन्द्र स्थापना गर्ने, आँधीखोलाको किनार क्षेत्रका बगरमा बेतबाँस, खर्बुजा, बयर खेतीलाई प्रोत्साहन गर्ने, बालीनालीमा देखिएको बाँदरको आतंकलाई न्यूनीकरण गर्दै मिसन कागती कार्यक्रम तथा तेजपत्ता र हाडे ओखरको खेतीमा जोड दिनेलगायत नीति तथा कार्यक्रम समावेश गरिएको छ ।

 

वालिङ नगरभित्रका पर्यटकीय सम्भावना बोकेका क्षेत्रको पहिचान गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने, आवश्यक पूर्वाधार निर्माण गर्ने, होमस्टेमा गएर खाने बानीको विकास गर्न विशेष छुट दिने, विभिन्न जातजाति, भेषभूषाको संरक्षण, बाजागाजाको संरक्षण गर्ने, पर्यटकीय सूचना केन्द्र स्थापना गरिने भएको छ ।

 

उद्योग स्थापना, घरेलु तथा साना उद्योगको विकास तथा प्रवर्द्धन, औद्योगिक क्षेत्र विस्तार, सार्वजनिक÷निजी साझेदारीमा केबलकार, पार्क, सडक, उद्योग स्थापना गर्ने, उद्योगलाई आकर्षित गर्न कर छुट, सहुलियत दिने, वालिङ मार्ट र होल्डिङ कम्पनी स्थापना गरी थप व्यवस्थित गरिने कार्यक्रम सार्वजनिक गरिएको छ ।

 

प्रत्येक वडामा एउटा नमुना सहकारी स्थापना र सञ्चालन गर्ने, उद्यम सहकारी तथा कृषि सहकारी स्थापना गर्ने, भिन्न क्षमता भएका ज्येष्ठ नागरिक र जोखिममा परेका नागरिकका लागि सुरक्षित सेल्टरको व्यवस्था गर्ने, १४ वटै वडामा रहेका खरका छाना भएका घरलाई विस्थापित गरी जस्तापाता लगाउने कार्यलाई निरन्तरता दिने, नगरभित्रका सबै कच्ची सडकमा बाह्रै महिना निर्वाध सडक सञ्चालन गर्ने, बसपार्क निर्माण गर्ने, सिद्धार्थ राजमार्गलाई विस्तार गर्ने र सडकको क्षेत्राधिकारभित्रका घरटहरा हटाएर दुर्घटनामुक्त क्षेत्रको रूपमा विकास गरिने भएको छ ।

 

वालिङ नगरभित्रका १४ वटै वडाका घरमा पिंक कलर अनिवार्य गर्ने, सुर्कौदीमा व्यवस्थित सहर विकास गर्ने, एक घर दुई रुख तथा एक घर एक गमला अभियान सञ्चालनलाई प्रभावकारी बनाउनेजस्ता नीति तथा कार्यक्रम समावेश गरिएको छ ।

 

नगरभित्र प्लास्टिक फोहोरलाई निरुत्साहित गर्ने, नगरपालिकालाई पूर्ण सरसफाइयुक्त नगर बनाउने, विपद् व्यवस्थापनका लागि अस्थायी सेल्टर तथा उद्दार गर्न सहजताका लागि आवश्यक तयारी गर्ने, जडीबुटी उत्पादन र बजारीकरणमा विशेष जोड दिने, फोहोरलाई आधुनिक प्रविधि प्रयोग गरी स्रोतका रूपमा विकास गर्ने, सम्भव भएसम्म नजिकका स्थानीय सरकारसँग सहकार्य गरी बारुणयन्त्र सञ्चालन गर्ने, निर्वाचित जनप्रतिनिधिका लागि आचारसंहिता बनाई लागू गर्ने विषय समेटिएको छ ।

 

खेल क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने, खेल प्रतिष्ठान बनाउने, मेयर कपलाई नियमित गर्ने, प्रत्येक वडामा खेल मैदान स्थापना गर्ने, वडा र नगरका विभिन्न स्थानलाई फ्री वाईफाई जोन बनाउने, मोबाइल एपमार्फत घरबाटै सेवा लिने कार्यलाई निरन्तरता दिइने भएको छ ।

 

आन्तरिक आय सबल बनाउन राजस्वका दरमा सुधार गरी सरल र दायरा फराकिलो बनाई सर्वसुलभ बनाउने, आन्तरिक आय वृद्धि गर्न राजस्व करका विभिन्न क्षेत्र पहिचान गर्ने, गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउने, भ्रष्टाचार अन्त्यका लागि गेटवेमार्फत भुक्तानी व्यवस्था मिलाउने, न्यायिक समितिलाई व्यवस्थित र सर्वसाधारणको पहुँमा पु¥याउनेलगायत नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

 

शुक्रबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रमलाई १० असारमा बस्ने नगरसभाबाट अनुमोदन भएपछि मात्रै लागू गरिने नगरप्रमुख खाँणले बताए । ‘कोभिड महामारीका कारण नीति तथा कार्यक्रम बनाउन विभिन्न माध्यमबाट नागरिक तथा समूहसँग सल्लाह सुझाव मागेका थियौैँ’, नगरप्रमुख खाँणले भने, ‘यो नीति तथा कार्यक्रम हाम्रो मात्रै नभई सर्वपक्षीय र सर्वदलीय पनि हो ।