close

बरेङको नीति तथा कार्यक्रम : कोरोना नियन्त्रण र उत्पादनमा जोड

बरेङको नीति तथा कार्यक्रम : कोरोना नियन्त्रण र उत्पादनमा जोड

Trulli
ADVERTISEMENT

बागलुङ– बागलुङको बरेङ गाउँपालिकाले कोरोना महामारी नियन्त्रणका लागि जनशक्ति व्यवस्थापन र पूर्वाधार विकासमा जोड दिएको छ । गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले शनिबार गाउँसभामा पालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिड–१९ को दोस्रो लहरसँगको संघर्ष र सम्भावित तेस्रो लहरसँग जुझ्न कोभिड लक्षित योजना सार्वजनिक गरे ।

 

सातौँ गाउँसभामा आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष शर्माले जनशक्ति अभावमा कोरोनासँगको लडाइँ हार्नु नपर्ने वातावरण बनाउने घोषणा गरे । ‘रोगलाई पालेर होइन, फालेर जीवन जिउने’ वातावरण सिर्जना गर्ने नारा उनले अगाडि सारे ।

 

स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर कोरोना महामारी नियन्त्रणमा जुट्ने घोषणा गर्दै शर्माले त्यसका लागि आवश्यक पूर्वाधार विकासलाई प्राथमिकता दिइएको सुनाए । गाउँपालिकाले औषधी र उपकरणको समेत अभाव हुन नदिने नीति लिएको छ ।

 

मनोसामाजिक र जनचेतनामूलक कार्यक्रममार्फत रोगसँग लड्ने प्रतिरक्षात्मक शक्ति वृद्धि गर्ने योजना पनि गाउँपालिकाले सार्वजनिक गरेको छ । कोभिड–१९ महामारी प्रतिकार्यलाई प्रभावकारी बनाउने नीति लिइएको अध्यक्ष शर्माले जानकारी दिए । प्रतिकार्यमा अग्र भागमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई गाउँपालिकाले अतिरिक्त भत्तासहित पुरस्कारको समेत व्यवस्था गर्ने भएको छ ।

 

महामारीका कारण रोजगारी गुमाएका युवाका लागि सहुलियत  ब्याजदरमा व्यवसाय गर्न ऋण उपलब्ध गराउने कार्यक्रम गाउँपालिकाले ल्याएको छ । महिला स्वास्थ्य स्वयंसेविकाको सञ्चार खर्चमा निरन्तरता र निःशुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

 

स्वास्थ्य क्षेत्रलाई जोड दिएको नीति तथा कार्यक्रमले १ सय विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रम ल्याएको छ । योगा तथा साधनालाई प्रवद्र्धन गर्न पालिकाको अस्पतालमा १ जना वैद्यको दरबन्दी स्वीकृत गर्ने भएको छ ।

 

हरेक स्वास्थ्य संस्थामा स्तनपान कक्ष निर्माण गरिने अध्यक्ष शर्माले घोषणा गरे । गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

 

चालू आर्थिक वर्षमा सञ्चालनमा रहेका ‘एक घर–एक महिला’ रोजगार कार्यक्रम, ‘गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम’, ‘गर्भवती र सुत्केरीसँग गाउँपालिका उपाध्यक्ष कार्यक्रम’ लगायत कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

 

उत्पादन र रोजगारीमा जाँगर ल्याउन युवा तथा महिला परिचालन गर्ने कार्यक्रम गाउँपालिकाले ल्याएको छ । स्वरोजगार र कृषि उत्पादनलाई नीति तथा कार्यक्रमले जोड दिएको छ ।

 

सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाले ८४ वर्ष उमेर पुरा गरेका ज्येष्ठ नागरिकलाई धार्मिक र सामाजिक हिसाबले सम्मान तथा निशुल्क स्वास्थ्य परीक्षणको कार्यक्रम ल्याएको छ ।

 

शिक्षणमा प्रविधिको प्रयोग, विकल्पको खोजी र शैक्षिक सुधार कार्यक्रम लागू हुने भएको छ । ‘स्मार्ट गाउँपालिका’ निर्माणका लागि वडा कार्यालय तथा सबै विद्यालयमा आधुनिक प्रविधिको प्रयोगद्वारा कार्यसम्पादन गर्ने नीति गाउँपालिकाले लिएको छ । 

 

बाँझो जमिनको प्रयोग र उत्पादनमा आत्मनिर्भर बनाउने योजना गाउँपालिकाको नीति तथा कार्यक्रममा समेटिएको छ । पालिकाले उत्पादनसँग जोडिनेलाई अनुदान विशेष कृषि कार्यक्रम अगाडि सारेको छ । निजी आवासको व्यवस्थापनलगायत कार्यक्रम पनि समावेश गरिएको छ ।

 

बाल विकास केन्द्रमा अध्यापनरत सहजकर्ताको पारिश्रमिक वृद्धि गरिने भएको छ । पूर्वाधार निर्माणमा क्रमागत योजनालाई निरन्तरता दिइने कार्यक्रममा उल्लेख छ । नीति तथा कार्यक्रममा सामाजिक सञ्जालको दुरुपयोग भएको भन्दै त्यसको नियन्त्रणमा गाउँपालिकाले चासो देखाएको छ ।

 

सञ्चार क्षेत्रलाई पनि कार्यक्रममा समेटिएको छ । पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले ‘पाहुनाको सत्कार गाउँपालिकाको संस्कार’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । यो कार्यक्रमअन्तर्गत घरबासको क्षमता विकास, व्यवस्थापन र प्रवद्र्धन गरिनेछ ।

 

गाउँपालिका उपाध्यक्ष आमा सम्मान कार्यक्रम गाउँपालिकाले सार्वजनिक गरेको छ । शर्माले सातौँ गाउँसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम शनिबार नै गाउँसभाले पारित भएको छ ।

 

गाउँसभा उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले गरेका थिए । उनले स्थानीय तह मजबुत हुनुपर्नेमा जोड दिए । नेपालको संविधानले दिएको अधिकारसमेत स्थानीय तहले प्रयोग गर्न नपाएको भन्दै ढुंगानाले त्यसका लागि स्थानीय सरकारले संघर्ष गर्नुपर्ने बेला आएको सुनाए ।