close

२ अर्ब बढीको बजेट ल्याउँदै इहटरी

२ अर्ब बढीको बजेट ल्याउँदै इहटरी

Trulli
ADVERTISEMENT

इटहरी(सुनसरी)- इटहरी उपमहानगरले आर्थिक वर्ष २०७८/८९ का लागि २ अर्ब रुपैयाँ बढीको बजेट ल्याउने तयारी थालेको छ । चालू आर्थिक वर्ष १ अर्ब ७८ करोड रुपैयाँको बजेट विनियोजन गरेको उपमहानगरले आउँदो वर्षका लागि आकार बढाएर २ अर्ब ३० करोड हाराहारी नयाँ बजेट ल्याउने तयारी थालेको हो ।


चालू वर्षमा विनियोजित बजेटमध्ये करिब ३० करोड रुपैयाँ कोरोना कहरले खर्च हुन नसकेकाले आर्थिक वर्ष २०७८/७९ मा बजेटको आकार बढाएर २ अर्ब ३० करोड रुपैयाँ हाराहारी पुग्ने उपमहानगरले जनाएको छ । १० असारसम्म बजेट तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने कानुनी व्यवसथा भएकाले तयारी थालिएको इटहरी उमहानगर उपप्रमुख लक्ष्मी गौतमले बताइन् ।


आगामी आर्थिक वर्षको बजेटमा पुरानै विकासका आयोजनालाई प्राथमिकतामा राखिएको उनको भनाइ छ । कोरोना संक्रमण नियन्त्रणलाई प्रमुख प्राथमिकता दिँदै अघिल्लो वर्षमा पूरा नभएका विकास योजनालाई आगामी वर्षमा सम्पन्न हुने गरी काम अघि बढाइने उनले जानकारी दिइन् ।


कोरोना कहरका कारण इटहरीमा रोकिएका ३ वटा ठूला महत्त्वपूर्ण आयोजना यो वर्षदेखि सञ्चालनमा आउने गरी काम थालिने बताइएको छ । ६ लेन राजमार्गको कारण देखिएको पार्किङ समस्यालाई दृष्टिगत गर्दै स्मार्ट पार्किङको योजनालाई नयाँ आर्थिक वर्षमा पनि समेटिएको उपप्रमुख गौतमले बताइन् ।


त्यस्तै, उपमहानगर क्षेत्रमा नगर बस सञ्चालन, रात्रि बजार, गोलचोकमा विश्व मानचित्रमा नेपाल देखिने नेपालको नक्सासहित पृथ्वी आकारको स्मारक निर्माणजस्ता योजना पनि प्राथमिकतामा राखिएको छ ।  चालू आर्थिक वर्षमा सम्पन्न नभएका कल्भर्ट, राजमार्ग निर्माणका कामलाई आगामी वर्षको बजेटमा प्राथमिकता दिइएको छ ।


गत वर्षको तुलनामा यो वर्ष उपमहानगरमा राजस्व संकलनमा गिरावट देखिए पनि खर्च नभएका रकमलाई आगामी आर्थिक वर्षमा जोड्दै महत्त्वपूर्ण आयोजनामा खर्च गरिने उपमहानगरले जनाएको छ । गत वर्ष २०७६/७७ मा १८ करोड रुपैयाँसम्मको राजस्व संकलन गरेको उपमहानगरले चालू वर्ष १६ करोड ८८ लाख ३ हजार मात्रै राजस्व संकलन गरेको राजस्व शाखाका प्रमुख नवीन भट्टराईले बताए ।

 

करिब ३८ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य बोकेको उपमहानगरले यो वर्ष कोरोना कहरकै कारण व्यापार खस्किँदा राजस्व गुमेको शाखा प्रमुख भट्टराईको भनाइ छ । चालू वर्षमा उपमहानगरले १ अर्ब ७८ करोड रुपैयाँको बजेट विनियोजन गरेकामा कोरोना कहरका कारण ५७ प्रतिशत मात्रै खर्च भएको जनाएको छ ।