close

अन्नपूर्णले ल्यायो बस्ती स्तरबाटै योजना छानेर बजेट

अन्नपूर्णले ल्यायो बस्ती स्तरबाटै योजना छानेर बजेट

Trulli
ADVERTISEMENT

कास्की- म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले स्वास्थ्यमा जोड दिँदै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रम पास गरेर बजेट पेस गरिएको हो ।

 

पालिकाले आगामी वर्ष ४२ करोड ३० लाखको कार्यक्रम र विकास निर्माणका योजना पूरा गर्नेछ । चालूतर्फ ३१ करोड १७ लाख २० हजार, पुँजीगततर्फ ८ करोड ९९ लाख ८० हजार र कोषतर्फ २ करोड १३ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको हो ।

 

पालिकाले माथिल्ला सरकारबाट ससर्ततर्फ २३ करोड १८ लाख, संघीय सरकारको वित्तीय समानीकरण अनुदान ७ करोड ७ लाख, राजस्व बाँडफाँट ७ करोड २ लाख ४५ हजार, गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान २२ लाख ७२ हजार, राजस्व बाँडफाँटबाट ५ लाख ३८ हजार, आन्तरिक राजस्वबाट प्राप्त हुने ९० लाख ४० हजार र चालू आवमा खर्च नभई बाँकी रहेको अनुमानित १ करोड ९१ लाख ५ हजार रुपैयाँ बजेटमा समावेश गरेको छ । 

 

बजेटमा पर्यटन, स्वास्थ्य, भौतिक पूर्वाधार, युवा तथा खेलकुद, कृषि, खानेपानी तथा सिँचाइ, शिक्षा, वन तथा वातावरणलगायत क्षेत्रलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट प्रस्ताव गरिएको छ । 

 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि विशेष योजना छ । सकेसम्म ३ लाखभन्दा साना आयोजना नबनाउने र बनाए पनि ३ लाख रुपैयाँभन्दा कम बजेटका योजनाको सम्झौता वडामै गर्ने गाउँपालिकाले जनाएको छ । विद्यालयका कर्मचारी र बालशिक्षा सहजकर्तालाई मासिक न्यूनतम १५ हजार तलबको व्यवस्था गर्न ६९ लाख रुपैयाँ विनियोजन गरेको छ ।


सडक आयोजनालाई १ करोड ७५ लाख, खानेपानी र सरसफाइमा ४४ लाख, भवन पूर्वाधारमा १ करोड १९ लाख, पर्यटन पूर्वाधारमा ३४ लाख, युवा तथा खेलकुदमा ६४ लाख, कृषिमा ४० लाख, पशु सेवामा ३५ लाख, सहकारीमा ५ लाख, आयुर्वेदमा ५ लाख, महिला तथा बालबालिकामा २५ लाख रुपैयाँ छुट्याइएको छ । 

 

कर्मचारी प्रोत्साहन र पुरस्कारका लागि १ लाख ५० हजार, समपुरक कोषमा ८० लाख विनियोजन गरिएको छ । बस्ती स्तरबाट योजना छानेर बजेट विनियोजन गरिएको पािलका अध्यक्ष क्या. डमबहादुर गर्बुजा पुनले जानकारी दिए । 


पालिकाले यो वर्ष लक्ष्यअनुसार राजस्व उठाउन सकेको छैन । चालू वर्षको ११ महिनामा ३४ लाख ४० हजार मात्रै संकलन गरेको हो । खासगरी पर्यटन यहाँको प्रमुख आम्दानीको स्रोत हो । पछिल्लो दुई वर्ष यता कोभिडका कारण पर्यटकको चहलपहल खासै छैन ।