close

कालीमाटीले ल्यायो ५२ करोड बढीको बजेट

कालीमाटीले ल्यायो ५२ करोड बढीको बजेट

Trulli
ADVERTISEMENT

सल्यान- सल्यानको कालीमाटी गाउँपालिकाले ५२ करोड ३५ लाख २० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । कोभिड नियन्त्रणसँगै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारलाई विशेष प्राथमिकतामा राखेर गाउँपालिकाले बजेट सार्वजनिक गरेको हो ।


भौतिक पूर्वाधारतर्फ अधुरा योजनालाई पूरा गर्ने र निरन्तरता दिने गरी गाउँपालिकाले आव २०७८/७९ का लागि बजेट ल्याएको हो ।


कालीमाटी गाउँपालिकाको दसौँ गाउँसभाले पारित गरेको बजेटमा एक वडा एक कृषि उत्पादन तथा एक वडा एक पशुपालन व्यवसायका लागि ४०/४० लाख रुपैयाँ विनियोजन गरिएको छ । नमुना तरकारी व्यवस्थापनका लागि २० लाख रुपैयाँ छुट्याइएको छ ।

 

सोमबार गाउँपालिका अध्यक्ष दानबहादुर केसीले नीति, कार्यक्रम प्रस्तुत गरेका थिए भने मंगलबार उपाध्यक्ष सनशिलता वली डिसीले बजेट सार्वजनिक गरेकी हुन् ।


बेरोजगारी समस्यालाई समाधान गर्न, विदेश जाने दरलाई न्यूनीकरण गर्न तथा वैदेशिक रोजगारबाट फर्केका युवालाई पुनः जान निरुत्साहित गर्न रोजगारी सिर्जनाका कार्यक्रमलाई प्राथमिकता दिइएको अध्यक्ष केसीले बताए ।


यसका निम्ति कालीमाटी अध्यक्ष रोजगार कार्यक्रमका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि १५ लाख, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि जग्गा नापजाँच कार्यक्रम सञ्चालन गर्न ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।


यस्तै, सडक विस्तारतर्फ १ करोड ५० लाख, सडक मर्मतसम्भारतर्फ ६० लाख, खरको छाना विस्थापनका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ । सिँचाइ, खानेपानी, भवन, नदी नियन्त्रण, पोषण, खेलकुद, कला–संस्कृति संरक्षण, विद्युत् विस्तार तथा वैकल्पिक ऊर्जा कार्यक्रमका लागि पनि गाउँपालिकाले बजेट विनियोजन गरेको छ ।


आगामी आर्थिक वर्षका लागि पुँजीगततर्फ २६ करोड ५० लाख र चालूतर्फ २५ करोड ८५ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष डिसीले जानकारी दिइन् ।