close

मेलम्चीको बाढीले बगाएको ग्रीन सिटी पार्कको कहानी (भिडियोसहित)

मेलम्चीको बाढीले बगाएको ग्रीन सिटी पार्कको कहानी (भिडियोसहित)

ADVERTISEMENT

 सिन्धुपाल्चोक- पर्यटनबाट समृद्धिको सपना देखेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका यतिबेला बाढीले पुर्‍याएको क्षतिले आक्रान्त छ । गएको असार १ गते इन्द्रावती र मेलम्ची नदिबाट उर्लेको बाढी मेलम्ची बजारमा पस्दा अर्बाैको क्षति हुन पुगेको छ । अकल्पनीय रुपमा आएको बाढीले स्थानीय सरकार आइसकेपछि भएका विकास निर्माण क्षणभरमै खोला बन्यो । मेलम्ची नगरपालिकाले पर्यटन प्रर्वद्धनका लागि करिब ३८ करोड लागतमा सुरु गरेको महत्वकांक्षी मेलम्ची ग्रीन सिटी पार्कको अहिले अस्तित्व समेत छैन ।


असार १ गते दिउँसोसम्म फराकिलो समथर जमीनमा आकर्षक मन्दिर, हरियो बगैंचा अनि सुन्दर बाटो देखिन्थ्यो । सलल बगिरहेको इन्द्रावतीको बगर छेउमा वरिपरी कम्पाउण्ड घेरिएको मेलम्चीको एउटा स्वर्ग जस्तै लाग्ने पार्क थियो, मेलम्ची नगरपालिकाको महत्वकांक्षी योजना ग्रीन सिटी पार्क । असार १ गते साँझ हेलम्बु हुँदै बग्ने मेलम्ची नदी र पाँचपोखरी हुँदै बग्ने इन्द्रावती खोला एक्कासी बौलायो । दुवै खोलाको दोभान रहेको मेलम्ची बजारमा उर्लिएर बाढी पस्यो । सयाैँ घरटहरा बगायो । मेलम्चीवासी खुला आकाशमुनि बास बस्न बाध्य बने । अनि मेलम्चीको थप सौन्दर्य झल्काउने र पर्यटन आकर्षित गर्ने लक्ष्यका साथ निर्माणाधीन ग्रीन सिटी पार्क एउटा कथा बन्यो ।

 

मेलम्चीवासीका सपनालाई बाढीले क्षणभरमै तुहाइदियो । तीन खण्डमा कार्य सम्पन्न गर्ने लक्ष्य राखेर एक खण्ड निर्माण सकिएको र स्थानीयले समेत प्रशंसनीय कार्य मानेको पार्क अहिले बगरमा परिणत भएको छ । असार १ गते दिउँसो सुन्दर देखिएको पार्क माथि अहिले खोला बगिरहेको छ । पर्यटन प्रवर्द्धन र वातारणीय संरक्षण अभियानका लागि ग्रीन सिटी पार्क निर्माण सुरु गरिएको थियो । कुल ३८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको पार्कका लागि पहिलो खण्डमा नगर क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत मेलम्ची नगरपालिकाले १२ करोड रुपैयाँ लगानी गरेको थियो । र, पहिलो खण्डको काम सम्पन्न हुने क्रममा थियो ।

 

पार्क निर्माण सुरु गरिएपछि यसको गुरु योजना हेर्दै स्थानीय पनि खुशी थिए । पयर्टनबाट समृद्धिको सपना देखेको मेलम्चीले पार्क निर्माणका लागि स्थानीयको समेत साथ पाएको थियो । पार्ककै कारण थप आन्तरिक तथा बाह्य पर्यटनको अपेक्षा राखेका स्थानीय पनि अहिले बाढीले आफ्नो घर बगाएको जस्तै पार्क बगाउनुको पीडामा छन् ।


पार्क निर्माणका लागि केबी एन्ड स्याङबो निर्माण सेवा जेभी र श्री खाम्पाचे शेर्पा निर्माण सेवासँग ०७४ जेठ ११ गते दुईपक्षीय सम्झौता भएको थियो । इन्द्रावती खोलाको किनारमा रहेको खाली जग्गामा पार्क बनाउन पाँचवर्षे योजना बनाएको हो । यसका लागि नगरपालिकाले प्रत्येक आर्थिक वर्षमा बजेट विनियोजन गर्दै जाने र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । इन्द्रावती नदी किनारबाट तटबन्ध बनाई खोला भन्दा करिब ३ मिटरको उचाईमा पार्क निर्माण हुँदै गरेको नगरपालिकाका इन्जिनियर जितबहादुर कार्की बताउँछन् । 


नदी किनारमा पार्क हुँदा वर्षाका बेला बाढीबाट जगाउने नदी नियन्त्रण कार्य सम्पन्न नगरिएको होइन । तर, अकल्पनीय बाढीले पार्क पूर्ण रूपमा क्षति गरायो  । पार्कबाट आम्दानी हुने र नगरवासीले समेत रोगजारी पाउने कल्पना क्षणभरमै बगाएको विलापमा छन्, अहिले नगरपालिकाका नगरप्रमुख डम्बरबहादुर अर्याल ।


मेलम्ची आफैंमा प्रसिद्ध ठाउँ हो । राजधानीबाट टाढा नभएका कारण पार्कले सिन्धुपाल्चोकमा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने अपेक्षा थियो । पार्क निर्माणपछि स्थानीयले रोजगारी पाउनुका साथै नगरपालिकाको राजश्व समेत वृद्धि हुने परिकल्पनाका साथ पार्क निर्माण गरिएको थियो । 
 

ग्रीन सिटी पार्क निर्माण सम्पन्न भएपछि नगरपालिकाले निश्चित शुल्कमा प्रवेशाज्ञा दिने योजना बनाएको थियो । अब बाढीले संरचनाको अस्तित्व नै मेटाएपछि फेरि यस्तै पार्क निर्माण गर्ने योजना नहुन सक्ने नगरपालिकाले जनाएको छ । पार्क नदीमा मिसिएपछि नगरपालिकाको मात्रै नभई पर्यटनबाट समृद्धिको सपना देखेका स्थानीयको सपना मेलम्चीको भेलसँगै बगेको छ ।