close

निजी आवास पुनर्निर्माण अवधि लम्बियो

कात्तिक मसान्तसम्म प्राधिकरणको वर्तमान संस्थागत संरचना यथावत्

निजी आवास पुनर्निर्माण अवधि लम्बियो

कात्तिक मसान्तसम्म प्राधिकरणको वर्तमान संस्थागत संरचना यथावत्

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले चालू आर्थिक वर्ष २०७७/७८ भित्रै भूकम्पबाट भत्किएका निजी आवासलगायत पुनर्निर्माणको काम सम्पन्न गर्न समय थपेको छ । कोरोना महामारीको दोस्रो चरणको निषेधाज्ञाका कारण पुनर्निर्माणमा अवरोध आएपछि पुनर्निर्माणको म्याद थप गरिएको छ ।

 

प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बिहीबार बसेको निर्देशक समितिको १९औँ बैठकले आगामी आर्थिक वर्षको पहिलो चौमासिकसम्म पुनर्निर्माणको काम सकाउने गरी समय लम्ब्याएको हो । अब निजी आवासलगायत पुनर्निर्माणका काम सम्पन्न गर्ने समय कात्तिक मसान्तसम्म रहनेछ ।

 

बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको वर्तमान संस्थागत संरचना र कार्यप्रणाली २०७८ कात्तिक मसान्तसम्म यथावत राख्ने निर्णय गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निषेधाज्ञाका कारण निजी आवास पुनर्निर्माणलगायतका काममा अवरोध आएकाले यसअघिको ‘वहिगर्मन तथा हस्तान्तरण कार्ययोजना’ परिमार्जन गरिएको जानकारी दिए ।

 

ज्ञवालीले यथासम्भव न्यून जनशक्ति परिचालन गरी आर्थिक वर्ष २०७८÷७९ को पहिलो चौमासिकभित्र ती कार्य सम्पन्न गरिने दाबी गरे । बैठकले कोभिड–१९ महामारीको दोस्रो लहरका कारण काम सम्पन्न गर्न नसकेका निजी आवासका लाभग्राहीलाई २०७८ कात्तिक मसान्तसम्मको समयावधि तोकी उक्त कार्यको फस्र्योट गर्ने निर्णय पनि गरेको छ ।

 

बैठकले अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तथा हस्तान्तरणका कार्य पनि एकैसाथ अघि बढाउने निर्णय गरेको छ । नेपालको पुनर्निर्माणसम्बन्धी प्रस्तावित अन्तर्राष्ट्रिय सम्मेलन २१–२३ मंसिर २०७८ सम्म आयोजना गर्न बैठकले स्वीकृति दिएको छ । प्राधिकरणले सम्मेलन आयोजना गर्नेछ ।

 

यस्तै, बैठकले निर्माण कार्य सम्पन्न गरेका तर सुरक्षित घरको मापदण्ड पूरा गर्न नसकेका निजी आवासका लाभग्राहीलाई सम्बन्धित स्थानीय तहमार्फत सम्भव भएसम्म सुधार गराउने गरी अनुदानको बाँकी किस्ता रकम उपलब्ध गराउन प्राधिकरणलाई निर्देशन दिएको छ ।

 

निजी आवास पुनर्निर्माणमा खटिएका इन्जिनियरलाई यसअघि गरिएको समझदारीअनुसार सञ्चार तथा यातायात खर्च र दुर्गम भत्ता उपलब्ध गराउने निर्णय भएको छ ।