close

कस्तो छ रूपाको आगामी बजेट र कार्यक्रम ?

कस्तो छ रूपाको आगामी बजेट र कार्यक्रम ?

Trulli
ADVERTISEMENT

कास्की- कास्कीकै सानो तर विकट गाउँपालिका हो, रूपा । यो पालिकामा स्वास्थ्य, सडक, पूर्वाधार निकै कमजोर थियो । स्थानीय तहको निर्वाचन भयो, गाउँगाउँमा जनप्रतिनिधि आए । उनीहरूले नै अघि सारेका विभिन्न योजना र कार्यक्रमबाट अहिले रूपाले आफ्नो रूप फेर्दै छ । जनप्रतिनिधि अहोरात्र जनसेवामा खटिएका छन् ।

 

बजेट समयानुकुल बन्छ । नीति तथा कार्यक्रमले जनताका समस्या र भावनालाई जोड्ने गरेको छ । रूपामा अहिले विकास निर्माण तीब्र छ भने विश्व महामारीको रुपमा आएको कोभिड विरुद्ध विशेष काम गरेर नागरिकको स्वास्थ्य सुरक्षाको सुनिश्चितता गरेको छ । यसैबीच रूपाले स्वास्थ्य र कृषिमा जोड दिँदै आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । 


कास्कीको रूपा गाउँपालिकालले आउँदो वर्षका लागि ४७ करोड ६८ लाखको बजेट ल्याएको छ । संघ सरकारको वित्तीय समानीकरण ८ करोड ३१ लाख, राजश्व बाँडफाँट ५ करोड ६७ लाख, सशर्त अनुदान २१ करोड २० लाख, विशेष अनुदान ८३ लाख अनुमान गरिएको छ ।  बजेट अनुसार पालिकाले ५२ ठाउँमा निःशुल्क वाईफाई जोन बनाउने निर्णय गरेको छ ।

 

नागरिकलाई सूचनाको पहुँचभित्र ल्याउनका लागि फ्रि वाईफाई जोनको अवधारणा सुरु गरिएको हो । यसका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ । आउँदो बजेटमा कोरोना नियन्त्रण र भौतिक पूर्वाधारलाई जोड दिईएको छ । कृषिलाई आम्दानीसँग जोडेर युवाको आकर्षण बढाउने कार्यक्रम सार्वजनिक गरिएको छ । हातमा सीप, सबै ठाउँमा ठीक नाराका साथ युवालाई तालिम र आर्थिक सहयोग गर्ने कार्यक्रम छ ।

 

‘एक घर, एक उत्पादन’ अभियान अन्तर्गत प्रत्येक घरमा टनेल वितरण गर्ने योजना अघि सारिएको छ । यसका लागि मात्रै ८३ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ । रूपाभित्र वन क्षेत्र बढी भएकोले वनमा आधारित उद्यम कार्यक्रमलाई प्राथमिकता दिईएको छ । रूपाले आउँदो वर्ष सबै घरमा धारा जोडिसक्ने लक्ष्य लिएको छ । खानेपानी योजनाका लागि १ करोड ५० लाख छुट्याईएको छ । ठूला लिफ्टिङ खानेपानी आयोजना धमाधम बनिरहेका छन् । प्रदेश सरकारले पनि ‘एक घर, एक धारा’लाई विशेष प्राथमिकताका साथ सन्चालन गरेको छ । 


पालिकाभित्र रहेका सबै जातजाती र भाषा, धर्मको संस्कारलाई जगेर्ना गर्न हंसपुरमा सांस्कृतिक संग्राहलय स्थापना गर्ने कार्यक्रम समावेश गरिएको छ । सबै सामुदायिक विद्यालयमा खाजा कार्यक्रमलाई जोड दिईएको छ । यसका लागि मात्रै ४२ लाख ५८ हजार बजेट छुट्याइएको छ । नमूना स्कुल र ल्याव सन्चालनका लागि १ करोड छुट्याईएको छ ।

 

शिक्षाबाट थप कार्यक्रम गर्न ५० लाख विनियोजन भएको छ । कोभिडबाट नागरिकको सुरक्षा गर्न बढी ध्यान दिईएको छ । अस्पताल, स्वास्थ्य चौकी निर्माणमा १ करोड ९५ लाख विनियोजन भएको छ भने स्वास्थ्य शाखाबाट २७ लाख ७५ हजार खर्च हुँदै छ । सडक अझैपनि रूपाको प्राथमिकतामा छ । एउटै सडकमा ४ करोड भन्दा बढी लगानी गरिएको छ ।

 

आउँदो वर्ष रामकोट- रामदी सडकका लागि २ करोड ८२ लाख छुट्याईएको छ । सोही सडकको देउराली मज्र्याङकोट खण्डका लागि १ करोड ५० लाख छुट्टै रकम विनियोजन भएको छ । अन्य सडकका लागि २ करोड ९० लाख छुट्याईएको छ । 


पालिका प्रदेशबाट समानीकरण शीर्षकमा ८९ लाख २३ हजार, राजश्व बाँडफाँट ३६ लाख ३ हजार, समपुरक अनुदान १ करोड, जिल्ला समन्वय समिति कास्की २ करोड ५० लाखलाई आम्दानीमा बाँधिएको छ । आन्तरिक श्रोतबाट ३ करोड ६० लाख उठ्ने अनुमान गरिएको छ । खासगरी ढुंगा गिटी बालुवाको निकासीलाई  प्रमुख आम्दानीको श्रोतको रूपमा हेरिएको छ ।