close

स्वास्थ्य मन्त्रालयको चेतावनी: निःशुल्क कोरोना खोपलाई शुल्क लिए कारबाही

स्वास्थ्य मन्त्रालयको चेतावनी: निःशुल्क कोरोना खोपलाई शुल्क लिए कारबाही

Trulli
ADVERTISEMENT

काठमाडौं- कोरोना संक्रमणलाई निःसंक्रमण गर्न सरकारले लगाइदिँदै आएको खोपमा पनि भागबन्डा भइरहेका समाचार बाहिरिएका छन् । लक्षित वर्गका लागि लगाइँदै आएको खोपमा कर्मचारी, राजनीतिक दलका नेता, तिनका आसेपासे, प्रहरी, प्रशासनका उच्च तहका पदाधिकारीको सिफारिस लिएर खोप लगाउने क्रम पछिल्लो समय ह्वात्तै बढेको छ ।


जसका लागि खोप लगाइने भनिएको हो, तिनलाई बाइपास गरेर भागशान्तिमा खोप लगाइन थालेपछि र यसको शृंखला नरोकिएपछि तालुकदार निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बल्ल बोलेको छ । स्वास्थ्य मन्त्रालयले कसैले पैसा लिएर कोरोना भाइरसविरुद्धको खोप लगाइदिने कुरा गरे तत्काल उजुरी गर्न आग्रह गरेको छ ।


खोप लगाउने जिम्मा पाएका स्वास्थ्यकर्मी, कर्मचारी वा कसैले पनि बेचेको पाइए मन्त्रालयमा खबर गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ । मन्त्रालयले सूचना जारी गर्दै सरकारले अहिलेसम्म निःशुल्क लगाइरहेको खोप शुल्क मागेर उपलब्ध गराउने, बेच्ने गरेको थाहा पाए तुरुन्त स्थानीय प्रशासन वा मन्त्रालयमा उजुरी गर्न भनिएको छ । 


अहिले खोप उमेर समूह तथा अत्यावश्यक क्षेत्र अनुसारले पालैपालो वितरण भइरहेको भन्दै मन्त्रालयले त्यस्तो ठगीमा नपर्न सुझाएको हो । अहिले खोप अभियान भने सञ्चालनमा छैन । केही साताअघि मात्र चीनबाट अनुदानमा आएको १० लाख डोज खोपको पहिलो मात्रा लगाइएको थियो । उक्त खोप ६० देखि ६२ वर्ष उमेर समूहकालाई लगाइएको छ । 


अब दोस्रो मात्रा आगामी २२ असारबाट लगाउने मन्त्रालयले जानकारी दिएको छ । झन्डै १३ लाखले कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउनै बाँकी छ । हालसम्म जम्मा ७ लाखले मात्र कोरोनाविरुद्धको पहिलो खोप लगाएको मन्त्रालयको तथ्यांक छ ।