close

नमोबुद्धमा लक्षित समुदायले पाए पानी शुद्ध बनाउने फिल्टर

नमोबुद्धमा लक्षित समुदायले पाए पानी शुद्ध बनाउने फिल्टर

Trulli
ADVERTISEMENT

काभ्रे– काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर १० का दलित समुदायलाई शुद्ध पिउने पानीका लागि फिल्टर वितरण गरिएको छ । वडाका सबै ८० दलित परिवारका लागि १–१ थान फिल्टर वितरण गरिएको हो ।

 

बुधबार आयोजित कार्यक्रममा नगरपालिका उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडा नम्बर १० का वडाध्यक्ष रामकृष्ण अधिकारीलगायतले फिल्टर वितरण गरेका थिए । नमोबुद्ध नगरपालिकाले प्रत्येक वडामा दलित समुदायको आयआर्जन कार्यक्रमका लागि १/१ लाख रुपैयाँका दरले बजेट विनियोजन गरेको थियो । 

 

सोही रकमबाट स्वस्थ जीवनका लागि शुद्ध पिउने पानी अपरिहार्य रहेको सन्देश प्रवाहका लागि चेतनामूलक कार्यक्रम समेटेर पानी शुद्ध बनाउने फिल्टर वितरण गरिएको हो ।

 

कार्यक्रममा उपप्रमुख तामाङले दलित समुदायको उत्थानका लागि नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको र यसको पूर्ण तथा सफल कार्यान्वयनका लागि सोही समुदायका व्यक्ति बढी क्रियाशिल भए प्रभावकारी बन्ने बताइन् । 

 

दलित समुदायको आयआर्जन वृद्धिमा नगरपालिकाबाट गर्नुपर्ने सहयोगबारे जानकारी गराउन उनले सम्बन्धित पक्षसँग आग्रह गरिन् । बालबालिकालाई शिक्षादीक्षा दिन आग्रह गर्दै चेतनाको विकास नै सबैभन्दा ठूलो विकास भएको उनको भनाइ छ ।

 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले लक्षित वर्गका लागि नगरले सक्दो बजेट विनियोजन गरेकाले सदुपयोग हुनुपर्नेमा जोड दिए । नगरपालिकाले दलित समुदायको आयआर्जन कार्यक्रमअन्तर्गत फरक–फरक वडामा छुट्टाछुट्टै ढंगका कार्यक्रम कार्यान्वयनमा लगिएको बताए । 

 

अहिलेको अवस्थामा शुद्ध पिउने पानी स्वास्थ्यका लागि महत्त्वपूर्ण भएको महसुस गर्दै सांकेतिक रूपमा चेतनामूलक कार्यका लागि फिल्टर वितरण गरिएको र यसको पूर्ण सदुपयोग गर्न उनले आग्रह गरे ।

 

वडा नम्बर १० का वडाध्यक्ष रामकृष्ण अधिकारीले आगामी दिनमा संस्कृति संरक्षणका लागि आयमूलक कार्यमा प्रयोगका लागि बाजा खरिद योजना बनाइएको बताए । विगतमा पनि दलित समुदायको उन्नति र उत्थानका लागि वडा तथा नगरले कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने उनको भनाइ छ ।

 

नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेले वडा नम्बर १० मै वातावरणमैत्री टोल घोषणा गरिएको जानकारी दिँदै यसको सफल कार्यान्वयनका लागि शुद्ध पिउने पानी अनिवार्य आवश्यक रहेको सुनाए ।

 

पानीबाट लाग्ने रोगबाट नगरबासी सुरक्षित होउन् भन्ने उद्देश्यले यस्ता कार्यक्रममा पनि नगरपालिकाले जोड दिएको उनले बताए । वडा सदस्य विष्णुकुमारी बिकले कार्यक्रमको आवश्यकताबारे प्रस्ट्याएकी थिइन् ।

 

नमोबुद्धले दलित आयआर्जन कार्यक्रमअन्तर्गत यसअघि वडा नम्बर २ मा बाख्रा तथा वडा नम्बर ३ मा बाजा वितरण गरेको थियो । अन्य वडामा पनि आयमूलक, चेतनामूलक कार्यक्रम भइरहेको नगरपालिकाले जनाएको छ ।